देशबाहिर रहेका लाखौँ युवाहरूको भविष्य खोज्दै छु : प्रधानमन्त्री

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन्। 

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैँमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ ऊर्जा पैदा भएको छ।’

‘यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु। जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ,’ प्रधानमन्त्रीले भने, ‘आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ। यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ। यसले निरासालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ।’ 

प्रधानमन्त्रीले यसपटक आफ्नो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति रहेको बताए। उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नभएको उनको भनाइ थियो। 

‘युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो,’ प्रधानमन्त्रीले भने, ‘आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तर्क्रिया सुरु गरेको छु। विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ।’

प्रदेशको नामाकरणबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले विवादलाई संवादको माध्यमबाट समाधान गर्न जरुरी रहेकाे बताए। 

सन्देश सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गरेका थिए। 

सुझावित समाचार