कोशी प्रदेशमा बजेटका लागि फेरि अध्यादेशकै सहारा

१४ दिनपछि बजेट शून्यताको अवस्था हट्यो, ३६ अर्ब ३४ करोडको पुरानै बजेट

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटका लागि फेरि अध्यादेशकै सहारा लिनुपरेको छ । सर्वोच्च अदालतको आदेशबाट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएसँगै आर्थिक अध्यादेश र विनियोजन अध्यादेश ल्याएको हो । 

प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले आइतबार आर्थिक र विनियोजन अध्यादेश जारी गरेका हुन् । यससँगै कोशी प्रदेशमा १४ दिनदेखिको बजेट शून्यताको अवस्था हटेको छ । उक्त अध्यादेश ३१ जेठमा ल्याएको अध्यादेश नै हुबहु रहेको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताए । 

कोशी प्रदेशले ३६ अर्ब ३४ करोड २४ लाख १० हजारबराबरको अनुमानित बजेट अध्यादेशमार्फत सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमा चालू खर्च १४ अर्ब ६२ लाख ६६ हजार र पुँजीगत खर्च १८ अर्ब २३ लाख ५२ हजार छ । बजेटमा प्रदेश सरकारले आन्तरिक राजस्व चार अर्ब ६८ करोड ७५ लाख ५० हजार संकलन गर्ने अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँटतर्फ ११ अर्ब ६४ करोड ८१ लाख प्राप्त गर्ने उल्लेख छ । यसैगरी, संघबाट वित्तीय समानीकरण अनुदानमार्फत आठ अर्ब ७८ करोड ३८ लाख, ससर्त अनुदान पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड र विशेष अनुदान ७६ करोड प्राप्त गर्ने बताइएको छ ।

यद्यपि, अध्यादेशमार्फत सरकार चलाउनुपर्ने बाध्यता भने उस्तै छ । संविधानअनुसार १ असारमा प्रदेश सरकारले संसद्मा बजेट पेस गर्नुपर्छ । तर, कोशीको संसदीय अंकगणितका कारण ३१ जेठमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । तत्कालीन कार्की नेतृत्वको सरकारबाट जसपा र माओवादी बाहिरिएपछि सत्ता संकटमा परेका वेला अल्पमतमा रहेका कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । 

अध्यादेश जारी भएपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पारित भई प्रमाणीकरण हुनुपर्ने कानुनी व्यवस्था छ । प्रदेश सभाबाट पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ । कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेसँगै कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने । तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित मुख्यमन्त्री बनेका थापाको नियुक्तिलाई सर्वोच्चले असंवैधानिक ठहर गरिदियो ।

गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्ति त भए, तर उनले ४ भदौमा सभाध्यक्षको मतसहित पाएको विश्वासको मतलाई सर्वोच्चले असंवैधानिक ठहर गर्यो । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दियो । थापा नेतृत्वको सरकारले पनि संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत नै बजेट ल्याउने तयारी गरेको थियो । तर, सर्वोच्चमा मुद्दा परेपछि उक्त सरकारले बजेट ल्याउन सकेन ।

यसबीचको सत्ता राजनीतिको असंवैधानिक दाउपेचले कोशी सरकारको बजेट ओझेलमा प¥यो, जसका कारण प्रदेश सरकारले बजेट ‘होलिडे’ भोग्नुप¥यो । प्रदेश सभामा बजेट पेस नै नभएपछि १० भदौको मध्यरातबाट अध्यादेश नै निष्क्रिय हुन पुग्यो । त्यसपछि सर्वोच्चमा मुद्दा विचाराधीन भएका कारण १४ दिन प्रदेश सरकारले बजेट शून्यताको अवस्था भोग्नुप¥यो । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार बनेपछि पहिलो बैठकले नै आर्थिक र विनियोजन अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । तर, अबेर मन्त्रिपरिषद् बैठक बसेका कारण त्यस दिन अध्यादेश जारी हुन सकेन । शनिबार सरकारी बिदा भएका कारण आइतबार मात्र अध्यादेश जारी भएको हो ।

संसदीय अंकगणितका कारण सरकार अल्पमतमा परेपछि कार्की नेतृत्वको सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता थियो । यद्यपि, कोशी सरकार भने अल्पमतमा परेका कारण अध्यादेशमार्फत बजेट ल्याएको स्विकार्न तयार छैन । ‘प्रदेश सभाको अधिवेशन पनि चालू अवस्थामा थिएन ।

प्रदेश सरकार बजेटविहीन रहेका कारण छिटो बाटोबाट बजेट ल्याउनुपर्ने थियो । फेरि सुरुवात गर्न समय लाग्ने भएको अध्यादेशमार्फत बजेट ल्याएका हौँ,’ मन्त्री मेन्याङ्बोले नयाँ पत्रिकासँग भने, ‘अघिल्लो सरकारले बजेट पास गर्नुपर्ने थियो । हामीलाई त पहिला बजेट ल्याउनुहुन्छ भन्ने थियो । त्यसवेला हामी प्रतिपक्षमा हुँदा पनि बजेट पास गर्न सकारात्मक नै थियौँ । उहाँहरू पनि पहिला बजेट ल्याउन तयार हुनुहुन्थ्यो । तर, अचानक विश्वासको मत लिँदा बजेट शून्यताको अवस्था आयो ।’ 

अध्यादेशमार्फत बजेट ल्याउनु असंवैधानिक नभएको मन्त्री मेन्याङ्बो बताउँछन् । अब प्रक्रिया पूरा गरेरै सदनबाट पारित गरिने उनले बताए । यद्यपि, अहिलेकै अवस्थामा सदनबाट बजेट पास गर्नु ‘फलामको चिउरा चपाउनु’सरह हुनेछ । ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० सांसद छन् । सरकारमा नरहे पनि ६ सिट रहेको राप्रपाले यो सरकारलाई समर्थन गर्ने जनाइसकेको छ । यद्यपि, सदनबाट बहुमतले परित गर्न ४७ मत आवश्यक पर्छ । 

विपक्ष कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको ४७ मत छ । अहिलेको अवस्थामा उसले एमाले नेतृत्वको सरकारले ल्याएको बजेट पास गर्ने देखिँदैन, मन्त्री मेन्याङ्बोले सबै मिलेर बजेट पास गर्नुको विकल्प नरहेको बताए । उनले भने, ‘अहिले प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएका कारण छिटो बाटोका लागि अध्यादेश ल्याएका हौँ । प्रतिस्थापन विधेयकमार्फत केही संशोधन गरिन्छ ।

सबै दलसँग सहमति गरेर प्रतिस्थापन विधेयक ल्याएर सबैको सहमतिमा पास गर्नुपर्छ । अहिलेको आवश्यकता यही हो ।’ कोशी प्रदेशमा संसदीय अंकगणितका कारण अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता रहेको संविधानविद् विपिन अधिकारी बताउँछन् । उद्धव थापा नेतृत्वको सरकारले दुईपटक संविधान मिच्ने काम गरे पनि बजेट ल्याउन चासो नदिँदा अहिले अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता आइपरेको उनले बताए । 
 

सुझावित समाचार