दलाल पुँजीपतिहरूको स्वार्थ पूरा गर्न सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी-छानी लखेट्यो : ओली

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी दलाल पुँजीपतिहरूको स्वार्थ पूरा गर्ने उद्देश्यले अहिलेको सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी-छानी लखेटेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले त्यस्तो आरोप लगाएका हुन्। ओलीले राष्ट्रिय पुँजीको विकास र रोजगारीमा योगदान पुर्याएको भन्दै यति होल्डिङस्, भाटभटेनीलगायतका कम्पनीको बचाउसमेत गरे।

‘यति होल्डिङसलाई खेद्नेहरू दलाल पुँजीवादीहरू हुन्। त्यसकारण उनीहरू खेद्छन्, किनभने यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटेल पनि चलाएको छ, जे पनि गरेको छ, हेलिकोप्टर पनि चलाएको छ, भारी बोकेर हिँड्ने त्यस्तो गर्न ती काम गर्न पाइन्छ?’ ओलीले भने, ‘यो त राष्ट्रिय पुँजीबाहेक हुनै सक्दैन, स्विजरल्यान्डमा लगेर उसले जम्मा गर्दैन। उसले माल्दिभ्स, श्रीलंका, बंगलादेश लाँदैन, भारतमा पैसा लाँदैन, मुम्बईमा, श्रीलंकामा होटेल छैन। देशमै केही गर्छु भन्ने यस्तालाई पनि चलाउन दिन्छ?’

ओलीले कांग्रेस र माओवादी केन्द्र सहकारी आन्दोलनबाट गरिबी निवारण गर्ने पक्षमै नरहेको दाबीसमेत गरे।

‘कांग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले नै सहकारीको पक्षमा छैन। अर्कोलाई नीतिको अर्थै छैन। नीतिसँग कुनै सरोकार छैन माओवादी भन्ने पार्टीलाई। उसले फाइदा मात्र जान्दछ। सहकारीको बाटो हिँडेर दिनमा कुइँटलका कुइँटल सुन ल्याएजस्तो फाइदा छैन। गाउँका मान्छेलाई सानोतिनो कुरामा जोडेर के फाइदा छ उसलाई?’ ओलीले भने।

सुझावित समाचार