सहरमा अर्गानिक उत्पादन

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

दरबारमार्गस्थित ओरियन्ट क्याफेमा हरेक शनिबार सुमिना भट्टराईले सातु र पिठो बिक्री गर्छिन् । ओखलढुंगा सिद्धिचरण गाउँपालिका चार्कुकी स्थायी बासिन्दा भट्टाराई हाल ललितपुर कुपन्डोल बस्छिन् । गाउँबाट मकै, जौ, फापरलगायत खाद्यान्न मगाएर सातु बनाएर बिक्री गर्ने गरेको उनले बताइन् । ‘घरमै भुटेर सातु बनाउँछु । विशेष गरी बच्चाको लिटोका लागि प्रयोग हुने जौको सातु, चना, गहुँ, मकै फापर गाउँबाट मगाएर बनाउँछु,’ उनले भनिन्, ‘थोरै उत्पादन गर्छु, दिनको चार–पाँच हजार बिक्री हुन्छ । रैथाने हाटबजारले बिक्री गर्ने ठाउँ उपलब्ध गरेको छ । यसले हामीजस्ता महिलालाई रोजगारी प्रदान गरेको छ ।’

नुवाकोटकी गीता ढकालले पनि यहाँ कागती, ताइचिन चामल, मकैको पिठो, सालको पात बेच्ने गर्छिन् । नुवाकोटस्थित जग्गामा उत्पादन भएका स्थानीय उत्पादन काठमाडौं ल्याएर बिक्री गर्ने गरेको उनले बताइन् । 

दरबारमार्गस्थित ओरियन्ट क्याफेमा रैथाने एग्री प्रोडक्ट्स नेपालले हरेक शनिबार बिहान ६ देखि १२ बजेसम्म हाटबजार आयोजना गर्छ । यहाँ कृषकले स्थानीयस्तरमा उत्पादित सामग्री बोकेर ल्याउँछन् र बिक्री गर्छन् । रैथाने एग्री प्रोडक्ट्सका अध्यक्ष तिलक ढकाल नेपाली रैथाने कृषि उपजको प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताउँछन् । ‘हाटबजारमा रैथाने कृषि उत्पादन किन्न उपभोक्ताको घुइँचो लाग्छ । हाटमा हुम्लाको मह, डोल्पाको सातु र यार्सागुम्बा पाइन्छन् । रैथाने जातका विभिन्न तरकारी जस्तै– निउरो, मस्यौरा, स्थानीय केरा, कोदोसम्म पाइन्छन्,’ उनले भने । 

साउन १ गतदेखि सुरु भएको रैथाने कृषि हाटबजारमा नेपालका ३० भन्दा बढी जिल्लाका ३७ स्टल रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले विशेष गरेर युवा साना व्यवसायी तथा एकल महिलालक्षित गरेका छौँ । दूरदराजका किसानलाई प्राथमिकतामा राखेका छौँ । साना तथा नयाँ उद्यमी, सिर्जनशील उद्यमी, उत्पादक र किसान उपभोक्ताबीच छलफल होस् भन्ने हेतुले गरेका हौँ ।’

काठमाडौंको शंखमूलस्थित जिरी लेकाली हाटघरमा ४० भन्दा बढी स्थानीय उत्पादन पाइन्छन् । व्यवसायी लीलाराम खड्काले दोलखामा उत्पादित सामग्रीलाई काठमाडौंमा प्रवर्द्धन गर्ने उद्देश्यले यो हाटबजार सुरु गरिएको बताए । ‘स्थानीयस्तरमा उत्पादन भएका अन्न र तरकारीको प्रवर्द्धनका लागि यो अवरधाणा ल्याएका हौँ । काठमाडौं र अन्य जिल्लामा पनि विस्तार गरेर दोलखाका उत्पादन पु¥याउने हाम्रो योजना छ,’ उनले भने । 

यस हाटबजारमा जिरीमा उत्पादित पहेँलो च्याउ, घ्यू, चिज, छुर्पी, कोदो, जौ, फापर, अकबरे खुसार्नीलगायत विभिन्न खाद्यान्न पाइन्छन् । कृषिलाई पर्यटनसँग जोड्नका लागि हिमाली भेगका कृषि उत्पादनको प्रचार–प्रसार आवश्यक रहेको उनले बताए । ‘कुनै पनि ठाउँको खाद्यान्नको प्रवर्द्धन हुनु भनेको त्यस ठाउँको पनि प्रवर्द्धन हुनु हो । यसले पर्यटकलाई उक्त ठाउँ घुम्नका लागि प्रेरित गर्छ,’ पर्यटन अभियन्तासमेत रहेका खड्काले भने ।

होटेल, रेस्टुरेन्ट तथा तारे होटलमा पनि रैथाने परिकारप्रति आकर्षण बढ्दो रहेको द सोल्टीका सिनियर सु–सेफ आरबी बुढाथोकीले बताए । ‘रैथाने खानेकुरालाई विदेशीले पनि निकै रुचाउँछन् । सहरवासीमा पनि यसप्रति आकर्षण बढ्दो छ । बर्गर र पिज्जा खाएर वाक्क भइसकेका मानिस रैथाने खानेकुराको स्वाद चाख्न चाहन्छन्,’ उनले भने । 

तिलक ढकाल अध्यक्ष, रैथाने एग्री प्रडक्ट्स 
अहिले मेसिनले उत्पादन गर्न थालियो । काठको कोलबाट उत्पादन गरेको तेल र अहिलेको तेल फरक छ । प्रविधिलाई जोगाउन र प्रवद्र्धन गर्न जरुरी छ । प्लास्टिकमा फलफूल राख्नुभन्दा स्थानीयस्तरमा उत्पादित डालो–नाङ्लोमा फलफूल राख्दा हाम्रो मौलिकता झल्कन्छ । यस्ता स्थानीय सीपको संरक्षण र बजारीकरण जरुरी छ । हाटमा स्थानीय जात हुनुपर्छ, हाइब्रिड वस्तु हुनुहुँदैन । विषादीरहित स्वदेशी उत्पादन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । 

सुझावित समाचार