३२ क्लबले एन्फा साधारणसभा बहिष्कार गर्ने

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

विधानविपरीत भर्चुअल साधारणसभा गराएको भन्दै असन्तुष्ट ३२ क्लबसहित बहुमत सदस्यले आज बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा बहिष्कार गर्दै 

असन्तुष्ट ३२ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)को आज बस्ने विशेष साधारणसभा बहिष्कार गर्ने भएका छन् । एन्फाले भर्चुअल विधिबाट साधारणसभा राखेपछि असन्तुष्ट क्लबले विधानविपरीत हुन लागेको साधारणसभा बहिष्कार गर्ने बताएका छन् । ‘विधानले जुम बैठक परिकल्पना गरेकै छैन । यो कार्य विधानविपरीत हो । त्यसैले बहिष्कार गर्छाैं,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ पत्रिकासँग बताएका छन् । 

६ असार ०७९ मा भएको चुनावी साधारणसभापछि पहिलोपटक एन्फाको साधारणसभा हुन लागेको हो । वेलावेला विभिन्न विवादपछि महत्वपूर्ण निर्णय हुन नसकेपछि पंकजविक्रम नेम्वाङको नेतृत्वले भुर्चअल बैठक राखेको छ । जसको विरोध केन्द्रीय सदस्यहरूले नै गर्दै आएका छन् । 

एन्फा पूर्वअध्यक्ष शेर्पाले वर्तमान नेतृत्व आफ्नो महत्वाकांक्षा पूरा गर्न लागिपरेको आरोप लगाएका छन् । ‘आफ्नो महत्वाकांक्षा पूरा गर्न जुम बैठक राखिएको छ । सबैलाई छलेर आफूअनुकूल लेखापरीक्षक नियुक्ति गर्न खोजिएको छ । भौतिक उपस्थिति हुन नसक्नुको कारण के ? हामी त्यो हुन दिँदैनौँ,’ शेर्पाले भने । एन्फाले दिउँसो ३ बजे भर्चुअल साधारणसभा राखेको छ । यता, असन्तुष्ट पक्षले बहुमत पुर्‍याउन नदिने योजना बनाएको छ । 

एन्फाले शुक्रबार मात्रै ३२ क्लबसँग वार्ता गरेको थियो । तर, एन्फा र क्लबबीचको बार्ता निष्कर्षमा पुग्न सकेन । जसले नेपाली फुटबललाई दुर्घटनातर्फ बढाएको छ । क्लबहरूको असन्तुष्टिपछि एन्फाले आज बिहान ९ बजे आपत्कालीन कार्यसमिति बैठक बोलाएको छ । 

एन्फा महासचिव किरण राईले भने ३२ क्लब नै साधारण सदस्य रहेको र एन्फालाई सहयोग गनुपर्ने नयाँ पत्रिकालाई बताएका छन् । उनले कार्यसमिति बैठकको निर्णय उल्टाउन नमिल्ने पनि बताए । ३२ क्लबले बैठक बहिष्कार गरे पनि संस्थापन पक्षले भने दोस्रोपटक बैठक आह्वान गर्दै साधारणसभालाई पूर्णता दिने तयारी गरेको छ । 

बारम्बार भौतिक उपस्थिति गर्न माग

सहिद स्मारक लिगका ३२ क्लबले यसअघि पनि पत्र लेख्दै विशेष साधारणसभामा भौतिक उपस्थिति हुनुपर्ने माग राखेका थिए । तर, एन्फाले कुनै ठोस निर्णय लिन सकेन । उनीहरूले साधारणसभा भौतिक उपस्थितिमा नभए बहिष्कार गर्ने, एन्फाले दिनुपर्ने बक्यौता रकम नदिए कुनै पनि प्रतियोगिता नखेल्ने चेतावनी यसअघि नै दिएका थिए । ३२ क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई पत्र बुझाउँदै सहजीकरण गर्न अनुरोध पनि गरेका थिए । यसैगरी, महासचिव राई र कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । 

कार्यसमितिको निर्णय उल्टाउन मिल्दैन : किरण राई, महासचिव, एन्फा 
असार ६ गतेको साधारणसभाले नै लेखापरीक्षक नियुक्त गर्नुपथ्र्याे । त्यो विषय नै आएन । लेखापरीक्षक दुई वर्षका लागि नियुक्त भएको छ । समयावधि सकियो । विधानअनुसार पुरानै लेखापरीक्षकलाई नवीकरण गर्न मिल्ने भएकाले कार्यसमितिबाट सिफारिस गरेको हो । असारसम्मको सबै अडिट गर्नु छ । नियमित साधारणसभा गर्नुपर्छ, लेखापरीक्षकको नियुक्ति फिफा र एएफसीसँग सहकार्य गरेरै भएको हो ।

फिफाले एउटै एजेन्डा भएको र चाँडै अर्काे साधारणसभा बोलाउने हुँदा भर्चुअल गर्न स्वीकृति दिएको छ । नियमित कामको एजेन्डा हो । कार्यसमितिले निर्णय गरेको विषयलाई उल्टाउन मिल्दैन । ३२ क्लब एन्फाको सदस्य हुन् । एन्फालाई सहयोग गर्नुपर्छ । हामी वैधानिक बाटोमा छौँ । उहाँहरू वैधानिक बाटोमा हुनुहुन्न । झनै बहिष्कार गर्ने कुरा विधानसम्मत छैन । 

See More On

सुझावित समाचार