सन्देश सभामा सहभागी हुन आइतबार प्रचण्ड र माधव हेटौँडा आउने

शनिबार, २३ भदौ, २०८०
डिजिटल संस्करण

समाजवादी मोर्चाले आइतबार गर्ने सन्देश सभामा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हेटौँडा आउने भएका छन्।

सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार आइतबार मोर्चाले सन्देश सभाको आयोजना गर्न लागेको मोर्चा आबद्ध दलहरूले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले आइतबार हुने सन्देश सभामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने जानकारी दिइन्।

हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने सन्देश सभामा शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्यका बारेमा स्पष्ट पार्ने समाजवादीकी बागमती अध्यक्ष भुसालले बताइन्। दिउँसो २ बजे हुने सभाको सम्पूर्ण तयारी पूरा भएको पनि अध्यक्ष भुसालले जानकारी दिइन्।
 

सुझावित समाचार