म्याच फिक्सिङ काण्डमा श्रीलंकाका सचित्र पक्राउ

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

पूर्वराष्ट्रिय खेलाडी सचित्र सेनानायकेमाथि सन् २०२० को श्रीलंकाली प्रिमियर लिगमा दुई खेलाडीलाई प्रलोभनमा पारेको आरोप

श्रीलंकाली प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोपमा श्रीलंकाका पूर्वस्पिनर सचित्र सेनानायके पक्राउ परेका छन् । सन् २०२० को श्रीलंकाली प्रिमियर लिगमा दुई खेलाडीलाई खेल मिलेमतो गराउन राजी गरेको आरोपमा सचित्र पक्राउ परेका हुन् । श्रीलंकाली प्रहरीले म्याच फिक्सिङको मुख्य अभियोगमा सचित्रलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराउने एजेन्सीले जनाएको छ । तीन वर्षअघिको लिगमा सचित्र कुनै पनि क्लबमा आबद्ध थिएनन् । तर, उनले खेलाडीलाई लोभ्याउन प्रयास गरेको प्रहरीको भनाइ छ । उनले श्रीलंकामा नभएर बाहिर देशबाट दुई खेलाडीलाई फकाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । प्रहरीले दुई खेलाडीको नाम गोप्य राखेको छ । सचित्रले दुबईबाट खेलाडीलाई लोभ्याएका थिए । 

सन् २०१९ को कानुन लागू
श्रीलंकाका खेलाडी वेलावेलामा फिक्सिङ काण्डमा मुछिने गर्छन् । तर, सरकारले म्याच फिक्सिङ सम्बन्धमा लामो समयसम्म कानुन बनाउन सकेन । सन् २०१९ मा सरकारले राजनीतिदेखि खेलकुदसम्म भ्रष्टाचार रोक्न एउटा विशेष कानुन बनाएको थियो । जसमा खेल भावनाविपरीत कार्य गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउने उल्लेख छ । ‘कुनै पनि खेलका खेलाडीले नतिजा प्रभावित पार्न सक्ने काम गरे म्याच फिक्सिङ मानिनेछ, उसलाई तत्काल कानुनबमोजिम पक्राउ गर्न सकिन्छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीले यही कानुनको धारा अपनाउँदै सचित्रलाई पक्राउ गरेको हो । 

बलिङ एक्सनमा प्रतिबन्ध
श्रीलंकाबाट ४९ एकदिवसीय खेल खेलेका सचित्र बलिङ एक्सनका कारण दुईपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा परेका थिए । सन् २०१४ मा उनको बलिङ एक्सन नियमअनुसार नभएको जनाउँदै आइसिसीले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा पर्नुअघि उनले टी–२० विश्वकप खेलेका थिए । श्रीलंकाले त्यही वर्ष नै आइसिसी टी–२० विश्वकप जितेको थियो । विश्वकप च्याम्पियन टोलीका सदस्य रहेका सचित्र सन् २०१३ मा इन्डियन प्रिमियर लिग (आइपिएल) को कोलकाता नाइट राइडर्समा आबद्ध थिए । त्यसवेला कोलकाताले उनलाई भिœयाउन ६ लाख २५ हजार अमेरिकन डलर खर्चेको थियो । एकदिवसीय खेलमा उनले ५३ विकेट लिएका थिए । २४ अन्तर्राष्ट्रिय टी–२० मा उनको नाममा २५ विकेट रहेको छ । सन् २०१५ को डिसेम्बरमा उनले अन्तिमपटक श्रीलंकाबाट एकदिवसीय खेल खेलेका थिए । सन् २०१३ मा उनले एकपटक मात्र टेस्ट खेले । 
 

सुझावित समाचार