सञ्चालनमा आए ५१ वटा चार्जिङ स्टेसन

देशभर थप ५०० चार्जिङ स्टेसन बनाउने विद्युत् प्राधिकरणको योजना

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारीसाधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेपछि प्राधिकरणले चैत ०७७ देखि सातै प्रदेशमा चार्जिङ स्टेसन निर्माण अघि बढाएको थियो । त्यसको झन्डै साढे दुई वर्षमा सबै चार्जिङ स्टेसन तयार भएसँगै बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् । 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप, कार र २५ वटामा साना–ठूला कार चार्ज गर्न मिल्नेछन् । 

पहिलो चरणको चार्जिङ स्टेसन निर्माण पूरा भएपछि प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन बनाउने प्रक्रिया अघि बढाएको छ । हाल यस विषयमा प्रारम्भिक अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘यी चार्जिङ स्टेसनहरूको निर्माण सफल रूपमा भयो । तर, हामीलाई यतिले मात्रा पुग्दैन । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले थप चार्जिङ स्टेसन बनाउन अपरिहार्य छ,’ उनले भने, ‘त्यसैले देशभर थप पाँच सयवटा चार्जिङ स्टेसन बनाउने गरी अध्ययन अघि बढाएका छौँ ।’ 

साथै, प्रदेश र अधिकांश जिल्लालाई समावेश गरेर थप चार्जिङ स्टेसन बनाउने प्राधिकरणको योजना छ । पाँच सयवटा चार्जिङ स्टेसन बनाउन न्यूनतम चार अर्ब लागत अनुमान गरिएको छ । उक्त स्रोत सुनिश्चित गरेर थप चार्जिङ स्टेसन निर्माण अघि बढाउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

यस्तै, मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारीसाधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमार्फत देशको दिगो विकासमा महŒवपूर्ण पाइला भएको बताए । विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य 
भइरहेको बताए ।

आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जासचिव घिमिरेले विद्युतीय सवारीसाधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । 

विद्युतीय  सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५–२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । यस्तै, एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्वनउत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय  सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिइन । 

 कस्तो छ चार्जिङ स्टेसन ?
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिने छ । चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सू, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

 कति लाग्छ शुल्क ? 
चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयुभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ । व्याट्री क्षमताअनुसार कम्तीमा आधा घन्टादेखि एक घन्टासम्ममा चार्ज पूर्ण हुन सक्छ । आन्तरिक रूपमा विद्युत्को खपत बढाउन, पेट्रोलियमको खपत कम गराउन, वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो । 

सुझावित समाचार