नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारीसाधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन्।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ वटा विद्युतीय सवारीसाधन छिटाे चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठूला कारहरू चार्ज गर्न मिल्नेछन्।
उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारीसाधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्वपूर्ण पाइला भएको बताए।
उनका अनुसार विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्ने कार्य भइरहेको बताए।
आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जासचिव घिमिरेले विद्युतीय सवारीसाधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए।
विद्युतीय सवारीसाधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५–२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने धारणा राखे।