देउखुरी उपत्यकाको जग्गा फुकुवा गरिने

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकाको जग्गा फुकुवाका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले मंगलबार विज्ञप्ति जारी गर्दै दुई वर्षदेखि रोक्का राजधानी क्षेत्रको जग्गा फुकुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । 

मन्त्री मास्की अध्यक्ष रहेको अध्ययन समितिले दुई महिनाअघि प्रतिवेदन तयार गरी मुख्यमन्त्रीलाई हस्तान्तरणसमेत गरिसकेको छ । जग्गाको कित्ताकाट रोक्ने, तर साबिकको कित्ताका आधारमा बिक्री–वितरण गर्न पाउने, बैंक ऋण सहजता ल्याउने गरी रोक्का जग्गा फुकुवाको तयारी गरेको मन्त्री मास्कीले बताए ।

‘रोक्का जग्गा फुकुवाको सम्बन्धमा निर्णय प्रक्रिया अन्तिम चरणमा रहेकाले विरोधका कार्यक्रम रोकी प्रदेश सरकारबाट छिट्टै निर्णय हुने कार्यमा सहज वातावरण निर्माणका लागि सम्बन्धित सबैमा आह्वान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । नदी सभ्यतामा आधारित प्रदेश राजधानी विकास गुरुयोजना निर्माण भएको छ ।

गुरुयोजनाका आधारमा राजधानी क्षेत्रको विकासका लागि जग्गा एकीकरणसम्बन्धी कानुनसमेत बनाइसकिएको छ । जसअन्तर्गत राजधानी विकास जग्गा एकीकरण आयोजना कार्यालयले जग्गा एकीकरणको काम अघि बढाएको छ । तर, जग्गा रोक्का हुँदा र राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको काम अघि नबढ्दा जग्गा एकीकरण आयोजनाको काम प्रभावकारी रूपमा अघि बढ्न सकिरहेको छैन । 

See More On

सुझावित समाचार