पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार नेपाल निजामती कर्मचारी युनियनकाद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले दुवै छिमेकी मुलुकसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन् ।
देउवाले अर्को छिमेकी बनाउन नसकिने भन्दै छमेकीलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्ने बताए । ‘चीन र भारत दुवै हाम्रा छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता र आवश्यकता छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीन र भारत दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ, तर छिमेकी बनाउन सकिँदैन,’ देउवाले भने ।
कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । उनले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उनको भनाइ थियो । कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यी कुरालाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ,’ कोइरालाको भनाइ थियो ।