‘ह्याप्पी ड्रेसिङ रुम’मा विराट र हार्दिकले नेपाली खेलाडीलाई लगाइदिए मेडल

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कपमा भारतविरुद्ध खेलेकाे नेपाली राष्ट्रिय टिमको  विश्वभर प्रशंसा भइरहेको छ। 

कमजोर भौतिक पूर्वाधार र भद्रगोल आन्तरिक खेल संरचनामा हुर्किरहेका नेपाली क्रिकेटरहरूले पटक–पटक विश्वच्याम्पियन रहिसकेका भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल रूपमा उभ्याएको भन्दै नेपाली टिमको प्रशंसा भएको हो। 

नेपाल र भारतको खेल समाप्त भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाईले भारतीय क्रिकेट टिमका खेलाडीहरूको ड्रेसिङ रुममा लगेर भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडीलाई मेडल दिन आग्रह गरे। 

पाकिस्तान र भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्याले, आसिफ शेखलाई विराट कोहलीले र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक राहुल द्रबिडले मेडल लगाइदिएका थिए। 

प्रशिक्षक देसाईले खेलाडीलाई हौसला प्रदान गर्न ल्याएको अवधारणालाई ‘ह्याप्पी ड्रेसिङ रुम’ भनिएको छ। सोमबार बेलुका भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो। यस्तै, सोमपालले विराट कोहलीसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, इमोसन हुन्।’
 

सुझावित समाचार