एसिया कप क्रिकेट : भारतसँग नेपाल ब्याटिङमा बलियो, बलिङमा चुक्यो

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण
एसिया कप क्रिकेट : भारतसँग नेपाल ब्याटिङमा बलियो, बलिङमा चुक्यो

क्यान्ड रंगशालामा टोलीलाई समर्थन गर्न पुगेका नेपाली समर्थक । तस्बिरः एजेन्सी

दुईपटकको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको च्याम्पियन भारतविरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ । एसिया कपअन्तर्गत समूह ‘ए’मा सोमबार नेपालले आफ्नो अन्तिम खेलमा विश्व क्रिकेटको शक्तिशाली राष्ट्र भारतसँग प्रतिस्पर्धा गरेको थियो । बलिङमा कमजोर प्रदर्शन गरेपछि नेपाल भारतसँग १० विकेटले पराजित भयो । श्रीलंकाको क्यान्डीमा भएको खेलमा नेपालले टस हारी पहिलो ब्याटिङ गरेको थियो । 

पहिलो ब्याटिङमा नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रनको योगफल खडा गर्‍यो । वर्षाले प्रभावित खेलमा भारतले नयाँ लक्ष्यको रूपमा २३ ओभरमा एक सय ४५ रन प्राप्त गरेको थियो । भारतले डिएलएस नियममा नेपाललाई १७ बलअगाडि नै पराजित गर्‍यो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि अविजित एक सय ४७ रनको साझेदारी गरे । दुवैले प्रतिओभर ७.२८ रनमा ब्याटिङ गरेका थिए । 

नेपालका सोमपाल कार्मी कट प्रहार गर्दै 

रोहितले ५९ बलमा ६ चौका र पाँच छक्का प्रहार गर्दै ७४ रन जोडे । गिलले ६२ बलमा आठ चौका र एक छक्काको सहयोगमा ६७ रन बनाए । बलिङका क्रममा नेपालका सोमपाल कामी सबैभन्दा खर्चिलो देखिए । उनले दुई ओभर बलिङ गर्दा २३ रन खर्चे । उनको प्रतिओभर इकोनोमी ११.५० रन रह्यो । भारतका अनुभवी ब्याट्सम्यानविरुद्ध नेपालका बलर निरीह देखिए । गुल्सन झा र सन्दीप लामिछानेले प्रतिओभर नौ रनमाथि खर्चिएका थिए । 

भारतका कप्तान रोहित शर्मा स्ट्रोक लगाउँदै । 

सन्दीपले चार ओभरमा ३९ तथा गुल्सनले १.१ ओभरमा ११ रन दिए । नेपालका लागि करण केसी र ललित राजवंशी इकोनोमी देखिए । दुवैले प्रतिओभर ६ रन दिए । करणले चार ओभरमा २६ तथा ललितले चार ओभरमा २४ रन दिएका थिए । यसअघि ब्याटिङ गरेको नेपालका लागि एक खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर आसिफ शेखले ५८ रनको सर्वाधिक योगदान दिए । नेपालले पहिलो पावर प्लेमा ६५ रन बनाएको थियो । 

नेपाली ब्याट्सम्यानले स्पिनरको सामना गर्न सकेनन् । कप्तान रोहितले विकेटको दुवै छेउबाट सिमर र स्पिनर प्रयोग गर्दा नेपालका तीन मुख्य ब्याट्सम्यान सस्तै रनमा आउट भए । प्रतियोगितामा पहिलोपटक अवसर पाएका भीम सार्की सात रन, कप्तान रोहित पाँच रन र कुशल मल्लले दुई रन जोडे । 

भारतविरुद्ध ५० रनको ओपनिङ साझेदारी भएपछि कुशल र आसिफ 

गुल्सन र दीपेन्द्रसिंह ऐरीले कमजोर ब्याटिङ सम्हाले । बलिङका क्रममा भारतका लागि रवीन्द्र जडेजा सर्वाधिक सफल भए । उनले १० ओभरमा ४० रन खर्चंदै तीन विकेट लिए । यसैगरी, मोहमद सिराजले ६१ रनमा तीन विकेट लिए । मोहमद सामीले २९ रनमा एक विकेट हात पारे । हार्दिक र सार्दुल ठाकुरले समान एक विकेट लिए । 

नेपाल–भारतबीचको खेल हेर्न जनकपुर र वीरगन्जमा बिदा

सिराहा/नेपाल र भारतबीचको ऐतिहासिक क्रिकेट खेलको साक्षी बन्न तराई मधेसका जिल्लामा सार्वजनिक स्थान र सडकमा प्रोजेक्टर लगाएर खेल हेरिएको छ । सिराहा, जनकपुरधाम, वीरगन्जलगायत सहरमा क्रिकेट हेर्न भिड लागेको हो । सिराहा पुस्तकालयमा प्रोजेक्टर लगाएर खेल हेर्ने व्यवस्था मिलाइएको छ । खेल हेर्न बालबालिकादेखि ज्येष्ठ नागरिकको उल्लेख सहभागिता देखिएको छ । त्यसैगरी वीरगन्जको घडिअर्वा पोखरी चोकमा पनि प्रोजेक्टर लगाएर खेल हेरिएको छ । जनकपुरधामको गिरिजा सिनेमा हल, महेन्द्रनगरमा रहेको लवकुश चलचित्र मन्दिरमा पनि प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ । त्यसबाहेक जनकपुरधामका चोकमा प्रोजेक्टर राखेर खेल हेरिएको छ ।

जनकपुरधामका विद्यालयमा बिदा
जनकपुरधाम/ नेपाल र भारतसँगको खेल हेर्न जनकपुरधाममा दिउँसो २ बजेदेखि नै विद्यालय बिदा दिइएको थियो । जनकपुरधाम उपमहानगरपालिकाले रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि«य रंगशाला निर्माण, विद्यार्थीको खेलभावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकाले टिमको हौसला बढाउन बिदा दिइएको सूचनामार्फत जनाएको छ । 

यसअघि गत बुधबार नेपाल र पाकिस्तानबीचको खेल हेर्न पनि जनकपुरधामले दिउँसो २ बजेदेखि विद्यालयमा बिदा दिएको थियो । जनकपुरधाम उपमहानगरपालिकाभित्र ५२ सामुदायिक विद्यालय र एक सयभन्दा बढी संस्थागत विद्यालय छन् । 
वीरगन्ज महानगरपालिकामा बिदा
वीरगन्ज/ वीरगन्ज महानगरपालिकाले त सोमबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा दिउँसो २ बजेबाट बन्द गरेको छ । वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्नका निमित्त वीरगन्ज महानगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा दिउँसो २ बजेदेखि बन्द गर्ने जानकारी गराएको हो ।

उत्कृष्ट क्रिकेटरलाई नगद दिने शुक्लाफाँटाको घोषणा
कञ्चनपुर/ भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गरेको छ । भारतविरुद्ध शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई जनही एक लाखसहित पुरस्कृत गर्ने निर्णय गरिएको शुक्लाफाँटाका प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्मानसहित खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिएको उनले बताए ।

सुझावित समाचार