भारतको धौलीगंगा बाँध चौथोपटक खोलिँदै : सतर्कता अपनाउन आग्रह

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ।

एनएचपिसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध सोमबार बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोलिनेछ। बाँध खोलेका वेला र त्यसपश्चात् केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो।

बाँध खोलेको वेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले सो समयमा नदी वारपार नगर्न आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको वेला हरेक वर्ष खोलिने गरिन्छ। यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ।

विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रूपैयाँको क्षति भएको थियो।

सुझावित समाचार