धार्मिक विद्यालयको पढाइले सरकारी मान्यता नपाउँदा विद्यार्थी मर्कामा

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

दोहोरो पढाइको धपेडीले विद्यार्थीमा शारीरिक तथा मानसिक पीडा

गोरखा नगरपालिका–८ की सुक्रिया खातुन गोरखा मोडर्न बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्छिन् । दिनभर विद्यालयकै अध्ययनमा व्यस्त रहने उनलाई बिहान पनि फुर्सद छैन । बिहान ६ बजे उठेर उनी मदरसा पढ्न जान्छिन् । दोहोरो पढाइको धपडीले उनी शारीरिक तथा मानसिक पीडामा छिन् ।

धार्मिक विद्यालयको पढाइले सरकारीसरह मान्यता नपाउँदा उनीजस्तै अन्य बालबालिकाहरू यस्तै समस्या झेल्न बाध्य छन् । धार्मिक विद्यालयमा वर्षाैँ धार्मिक पाठ्यक्रम पढे पनि साधारण विद्यालयमा समान तहको मान्यता नपाएका कारण मदरसा र गुम्बा पढ्ने विद्यार्थीहरू मर्कामा परेका छन् ।

जिल्लाको पाँच स्थानीय तहमा २१ वटा मदरसा छन् । मदरसामा मुस्लिम समुदायको धार्मिक विषय पठनपाठन हुँदै आएको छ । गोरखा नगरपालिकामा १३, गण्डकी र भीमसेन थापामा एक–एक, आरुघाट, सिरानचोक र पालुङटारमा दुई–दुईवटा मदरसा रहेको नेपाल मुस्लिम संघ गोरखाका अध्यक्ष जमिल मियाँले बताए । उनका अनुसार उक्त मदरसामा करिब एक हजार विद्यार्थीले धार्मिक विषय पठनपाठन गर्दै आएका छन् । उनीहरूमध्ये करिब ९० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पनि अध्ययन गर्छन् । धार्मिक विषयको पढाइले सरकारी विद्यालयको समान तहको मान्यता नपाएका कारण दुवै ठाउँको पढाइलाई एकसाथ लानुपर्ने बाध्यता विद्यार्थीमा रहेको मियाँले बताए । सरकारी पाठ्यक्रममा मुस्लिम समुदायको धार्मिक विषयलाई पनि समावेश गर्नुपर्ने उनको माग छ । ‘धार्मिक विद्यालयलाई पनि समान तहमा मान्यता दिने भनेर उल्लेख गरेको छ, तर व्यवहारमा त्यस्तो छैन,’ मियाँले भने ।

धार्मिक विषयले सरकारी मान्यता नपाउँदा वर्षौँवर्ष मदरसामा पढेर पनि सामुदायिक विद्यालयमा सुरुको कक्षादेखि नै पढ्नुपर्ने बाध्यता विद्यार्थीलाई भएको मदरसाका शिक्षक मौलाना रियाजुदिनले बताए । सरकारले चासो नदिएकोे र विद्यालय सञ्चालनका लागि पर्याप्त रूपमा अनुदान नदिएका कारण प्रभावकारी रूपमा सरकारी पाठ्यक्रमअनुरूप मदरसा शिक्षा सञ्चालन गर्न नसकिएको उनले बताए ।

गोरखा नगरपालिका– २ का वडाध्यक्ष रहमतुल्ला मियाँले नेपाल सरकारको पाठ्यक्रमअनुसारका विषय पठनपाठन नभएकाले मदरसाको पढाइले सरकारी मान्यता नपाएको बताए । सामुदायिक विद्यालयमा धार्मिक विषयलाई ऐच्छिक रूपमा राखेर पठनपाठन गराउन सके सहज हुने बताउँदै उनले त्यसतर्फ कसैको ध्यान नपुगेको गुनासो गरे । आफू शिक्षक हुँदा पनि पटक–पटक प्रयास गरेको, तर सफल नभएको उनले बताए ।

धार्मिक विषय पढाइ हुने गोरक्षनाथ वैदिक गुरुकुलले भने संस्कृतसँगै नेपाल सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसारको अंगे्रजी, गणित, सामाजिकलगायतका विषय पठनपाठन गराउँदै आएको छ । जसकारण सामुदायिक विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्यता विद्यार्थीमा नभएको विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद उपाध्यायले बताए ।

गुरुकुलको पढाइले साधारण विद्यालयसरह मान्यता पाए पनि यस वर्ष गुरुकुलमा रहेका वटुकहरूको संख्या कटौती गर्नुपरेको उपाध्यायले गुनासो गरे । ‘हाम्रो गुरुकुलमा ३१ जना बटुकहरू थिए । विगत वर्षहरूमा नगरपालिका र वडाले गरेर सात लाख रुपैयाँ अनुदान दिन्थ्यो । त्यसबाट ३२ जनालाई पढाउन सकिएको थियो, तर यस वर्ष नगरपालिकाले अनुदान रकम घटाएको छ,’ उनले भने, ‘अनुदान कटौती भएपछि १४ जनालाई पोखरा पठाउन बाध्य भयौँ । अहिले यहाँ जम्मा १९ जनामात्र छन् ।’ 

नेपाल सरकारको पाठ्यक्रमअनुसार विषयवस्तु पठनपाठनमा विद्यालयले चासो नदिँदा मदरसाको पढाइलाई सरकारीसरह मान्यता दिन नसकिएको गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । 

सुझावित समाचार