डेब्युमै सावित्राको चार गोल

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

पहिलोपटक युरोपेली लिग खेलेकी सावित्राले रमात हसारोनविरुद्धको डेब्यु खेलमै चार गोल गरिन् । उनी युरोपेली लिग खेल्ने पहिलो नेपाली बनिन् 

नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले इजरायली शीर्ष डिभिजन लिगको डेब्यु खेलमै चार गोल गरेकी छिन् । शनिबार राति सावित्राको उत्कृष्ट प्रदर्शनप्रेरित हापोएल रानानाले रमात हसारोनमाथि ४–० को फराकिलो जित निकालेको हो ।

यससँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । ‘डेब्यु खेल निकै राम्रो भयो । चार गोल पनि गर्न सफल भएँ,’ सावित्राले नयाँ पत्रिकासँग भनिन् । ‘पहिलो गोलमै ह्याट्रिक भएपछि बाँकी खेलमा पक्कै सहज हुन्छ,’ इजरायलबाट सावित्राले भनिन् । सावित्राले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेकी हुन् । 

इजरायल एसियाली मुलुक भए पनि उसले युइएफएको सदस्यता लिएको छ । सावित्राले घरेलु प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफबाट खेल्ने गर्छिन् । उनी घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता हुन् । यसैगरी, सावित्रा भारतीय महिला लिगमा पनि सर्वाधिक गोलकर्ता भइसकेकी छिन् । सावित्राले गोकुलम केरेलाका लागि दुई र सेथु एफसीका लागि एकपटक लिग उपाधि जितिसकेकी छिन् । 

एक महिनाअगाडि इजरायल पुगेकी सावित्राले रानानाका लागि एथेना कपमा खेलिसकेकी थिइन् । त्यस प्रतियोगितामा रानाना साबिक विजेता किर्यात गातसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । दोस्रो खेलमा रानानाले ७ सेप्टेम्बरमा किर्यात गातसँग खेल्नेछ । 

See More On

सुझावित समाचार