एसिया कप क्रिकेट : पाकिस्तान सुपर फोरमा

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण
एसिया कप क्रिकेट : पाकिस्तान सुपर फोरमा

वर्षाले खेल रद्द भएपछि एकअर्कासँग हात मिलाउँदै भारत र पाकिस्तानका खेलाडी

वर्षाका कारण खेल रद्द भएपछि एक अंक बटुलेको पाकिस्तान एसिया कपको सुपर फोरमा 

१६औँ एसिया कप क्रिकेट प्रतियोगितामा शनिबार वर्षाले प्रभावित पारेको भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ । दुवै राष्ट्रले समान एक अंक पाएका छन् । प्रतियोगिताको आयोजकसमेत रहेको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ । समूह ‘ए’मा पाकिस्तान, भारत र नेपाल छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखर अहमेदले शतक बनाएका थिए । अब नेपाल र भारतबीच सोमबार खेल हुनेछ । श्रीलंकाको क्यान्डीमा हुने सो खेलमा भारत र नेपालका लागि गर या मरको अवस्था हुनेछ । 

नेपालसँग अप्रत्याशित रूपमा पराजित भए भारत बाहिरिनेछ । जितले नेपाल सुपर चारमा पुग्नेछ । पालेकेल क्रिकेट रंगशालामा भारत र पाकिस्तानबीचको खेल बारम्बार वर्षाले प्रभावित बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानी फास्ट बलरको सामना गर्न सकेन । भारत ४८.५ ओभरमा दुई सय ६६ रनमा अल आउट भयो । पाकिस्तानका लागि साहिन अफ्रिदीले १० ओभरमा सर्वाधिक चार विकेट लिए । उनले भारतका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीको महत्वपूर्ण विकेट पहिलो स्पेलमै हात पारे । त्यसपछि भारत दबाबमा आएको थियो । 

भारतले ब्याटिङ गरेको पहिलो दश ओभरमा ३३ मिनेट वर्षाले खेल रोकिएको थियो । पहिलोपटक वर्षाले खेल रोकिँदा भारतीय ब्याट्सम्यान फर्ममै देखिएका थिए । 

वर्षा रोकिएपछि पुनः खेल सुचारु हुँदा साहिनले घातक बलिङ गरे । उनले आफ्नो यस फर्मलाई अन्तिमसम्म नै कायम राखे । पाकिस्तानले एक बल पनि खेल्न पाएन । भारतको पहिलो इनिङपछि मैदानमा भारी वर्षा भएको थियो । भारी वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक प्राप्त गरे । 

पान्ड्या र किसनले उकासे भारतलाई भारतले ब्याटिङ पिचमा ६६ रन बनाउँदा चार विकेट गुमाएको थियो । हार्दिक पान्ड्या र इशान किसनले पाँचौँ विकेटका लागि बलियो साझेदारी गरे । दुवैले एक सय ३८ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक योगफलसम्म पुर्‍याए ।

पाकिस्तानले पाँचौँ विकेट लिन ३८औँ ओभर प्रतीक्षा गरेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पायो । हरिसको ३८.३ ओभरको टप एज लागेर बाबरबाट इशान क्याच आउट भए । अफ्रिदीको ४४.१ ओभरमा एक्स्ट्रा कभरमा पान्ड्या क्याच आउट हुन पुगे । त्यसपछि भारतले लगातार विकेट गुमाएको थियो । 

पान्ड्याले ९० बलमा सात चौका र एक छक्कासहित ८७ रन बनाए । विकेटकिपर इशानले ८१ बलमा ९ चौका र दुई छक्कासहित ८२ रन बनाए । ओपनर कप्तान रोहित ११ रन बनाएर बोल्ड भए । ओपनर सुभमन गिल १० रनमै आउट भए । कोहली चार रनमै बोल्ड भए । जडेजाले १४ रन र जसप्रित बुमराहले १६ रन जोडेका थिए ।

एजेन्सीकाे सहयाेगमा

सुझावित समाचार