सफल बन्न व्यक्तित्वमा ध्यान दिनुस्

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

व्यक्तित्व भनेको तपाईंको भित्री गुण हो, बाहिरी आवरण मात्रै होइन । व्यक्तित्वका लागि बाहिरी आवरण सानो अंश मात्रै हो । पहिरन र शृंगारले मात्र व्यक्तित्व निर्धाण गर्दैन, बरु कसरी बोल्ने, कसरी खाने, कसरी हिँड्नेलगायत कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर हुन्छ । व्यक्तित्वमै सफलता प्राप्तिका रहस्य लुकेको हुन्छ । तसर्थ, व्यक्तित्व निर्माण अत्यावश्यक छ । उन्नति गर्न आफ्नो व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । मानिसमा इमानदारिता, सकारात्मक दृष्टिकोण, आत्मविश्वास, अनुकूलता, निष्ठा, अनुशासन, नम्रता, समानुभूति, जिम्मेवारी, विश्वसनीयता, प्रभावकारी सञ्चार, भावनात्मक स्थिरता, लचक आदि आवश्यक पर्छ । यस्ता गुण बोक्ने व्यक्तिले धेरै मानिसमा सकारात्मक र स्थायी छाप छोड्छन् । 

आत्मविश्वास
सबैभन्दा पहिले तपाईंसँग आत्मविश्वास हुनुपर्छ । कहिलेकाहीँ आत्मविश्वास भए पनि दोधारमा परिन्छ । हामीले धेरै सोच्न थाल्छौँ । विगत र वर्तमानबारे सोचेर धेरै समय खेर फाल्छौँ । तर, विगत र वर्तमान तपाईंको वशमा हुँदैन । जुन कुरा आफ्नो वशमा छैन, त्यो कुरालाई लिएर सोच्दा डर लाग्छ । जब धेरै सोच्न थाल्नुहुन्छ, तपाईंको आत्मविश्वास घट्छ । 

प्रभावकारी सञ्चार
राम्रो व्यक्तित्व हुनका लागि प्रभावकारी सञ्चार आवश्यक हुनुपर्छ । पछिल्लो समयका युवापुस्ता प्रभावकारी सञ्चार गर्न सक्दैनन् । कुनै मान्छेसँग संवाद गर्नुप¥यो भने १० मिनेट पनि होल्ड गर्ने क्षमता हुँदैन । मान्छेसँग कसरी बोल्ने भन्ने कुराको विकास गर्न जरुरी छ ।

सही गन्तव्य 
हरेक मान्छेले मिहिनेत गरिरहेका नै हुन्छन् । कडा संघर्ष गर्दा पनि कतिपय मानिस सफल हुन सकिरहेका हुँदैनन् । यदि तपाईंको मार्ग गलत छ भने मिहिनेत गर्दागर्दै पनि सफल हुन सकिँदैन । तपाईंको उद्देश्य एउटा छ र तपाईं अर्कै कुरामा मिहिनेत गर्दै हुनुहुन्छ भने गन्तव्यमा पुग्न सक्नुहुँदैन । तपाईं मिहिनेती हुँदाहुँदै पनि डिरेक्सन गलत हुन सक्छ । हरेक मान्छेसँग क्वालिटी हुन्छ । आफ्नो क्षेत्र नचिनेर पनि असफल भइरहेको हुन्छ । 

तपाईं कहाँ हुन चाहनुहुन्छ भन्ने कुरा स्पष्ट भएपछि तपाईं त्यहाँ कसरी पुग्ने भन्ने योजना बनाउनुपर्छ । डिरेक्सन चिन्नका लागि आफूआसपासका मान्छेसँग सल्लाह लिनुपर्छ । अग्रजको सल्लाह लिनैपर्छ । 

दृढ संकल्प
कुनै कामका लागि आफैँमा दृढ संकल्प हुनुपर्छ । इमानदारिता र धैर्य पनि चाहिन्छ । कतिपय मानिस कसैको कुराले उत्प्रेरणा मिलेपछि एक हप्ता मज्जाले मिहिनेत गर्छन्, पछि निरन्तरता दिँदैनन् । कतिपयमा ‘प्यासन’ हुँदैन । फोकस हुँदैन । जबकि, सफलताका लागि यी गुण अनिवार्य चाहिन्छन् । दृढ इच्छाशक्ति चाहिन्छ । 

सुझावित समाचार