सवारीचालक अनुमतिपत्र प्राप्त गरेको १० वर्ष पूरा भएको व्यक्ति वा यातायात व्यवस्था विभागबाट स्वीकृति पाएको प्रशिक्षकबाट मात्रै ड्राइभिङ सिक्न आवश्यक हुन्छ । यस्ता अनुभवी प्रशिक्षकबाट सवारी चलाउन सिक्दा आवश्यक सबै आधारभूत जानकारी सजिलै मिल्छ ।
पर्याप्त समय
ड्राइभिङ सिक्नका लागि पर्याप्त समय दिनुपर्छ । कहिल्यै पनि हतार गर्नुहुँदैन । धैर्य गरेर सिक्दा आत्मविश्वास बढ्छ । सामान्यतया २५ घन्टा सैद्धान्तिक र २५सै घन्टा प्रयोगात्मक रूपमा ड्राइभिङ सिक्नुपर्ने मान्यता छ । जसका लागि करिब महिनादिन आवश्यक पर्छ । यति समयमा पूर्ण रूपमा सिक्न सकिन्छ ।
कारबारे पूर्ण जानकारी
कार चलाउन सिक्नुभन्दा पहिले कारको बारेमा पूर्ण जानकारी लिनुपर्छ । कारमा रहेका एक्सिलेटर, ब्रेक, क्लच, स्टेरिङ, गियर, लाइट, पावरजस्ता विषयको जानकारी अपरिहार्य छ । कुन पार्टले के काम गर्छ भन्ने कुरा पहिले नै थाहा पाएर चलाउन सिक्दा सजिलो र सुरक्षित हुन्छ ।
बसाइ
पहिलोपटक कारको सिटमा बस्दा असहज महसुस हुन सक्छ । सबैभन्दा पहिला बसाइको व्यवस्थापन गर्न आवश्यक हुन्छ । यसबाहेक सिकारूमा गाडीको साइज सडकजत्तिकै छ भन्ने पनि भान पर्न सक्छ । तसर्थ, गाडीको साइजबारे पहिले नै जानकारी हुनुपर्छ ।
ध्यान केन्द्रित
कार चलाउन सिक्दा प्रशिक्षकले भनेको कुरा अनुशरण गर्न आवश्यक छ । आफूले सवारी चलाउने सडकका विषयमा पूर्ण जानकारी लिनुपर्छ । कारमा रहेका ऐना मिलाउनुपर्छ । जसले आफूपछाडिको वस्तुस्थिति हेर्न सजिलो हुन्छ । साथै, कुन पार्ट चलाउँदा के हुन्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । कार सिक्दा सधैँ शान्त रहनुपर्छ । अरूतिर ध्यान दिने, प्रशिक्षकसँग अनावश्यक विषयमा कुरा गर्नुहुँदैन ।