इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिने सहमति भएको छ । बुधबार इन्जिनियरिङ शिक्षाका विद्यार्थी, विद्यार्थी संगठन, त्रिवि उपकुलपति कार्यालयलगायतबीच शुल्क वृद्धि फिर्ता लिने सहमति भएको हो । यसअघि बालुवाटार, माइतीघर, नयाँ बानेश्वर, पुल्चोकलगायत ठाउँमा प्रदर्शन गर्दै आइरहेका विद्यार्थी संगठनहरूले बुधबार उपकुलपति कार्यालय परिसरमा समेत प्रदर्शन गरेका थिए ।
निरन्तर प्रदर्शन र आमरण अनशन थालेपछि उपकुलपति धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष शिवलाल भुसाल, रजिस्ट्रार पेसल दाहाल, डिन भार्गव धिताल, डिन डिल्लीराज शर्मालगायत विद्यार्थी संगठनका अध्यक्षहरूको बैठकले शुल्क फिर्ता गर्ने सहमति गरेको हो ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाका अनुसार सहमतिपछि विद्यार्थीले प्र्रदर्शन र आमरण अनशनका कार्यक्रम फिर्ता लिएका छन् । बैठकले शुल्क फिर्ता लिने, परीक्षा तथा अन्य कार्यक्रममा अवरोध नपुर्याउने, आमरण अनशन तथा प्रदर्शनका सबै कार्यक्रम स्थगित गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ ।
यसअघि संस्थानको २५ साउन बसेको बैठकले शुल्क बढाउने निर्णय गरेको थियो । सोहीअनुसार ४ भदौमा संस्थानले तीन लाख ३० हजार शुल्क वृद्धि गरी सात लाख ७५ हजार पुर्याएको थियो ।