ताइवान–अमेरिका घनिष्टताबाट किन क्रुद्ध हुन्छ चीन ?

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

ताइवानका उपराष्ट्रपति विलियम लायी अगस्ट १५ मा पाराग्वेको कूटनीतिक भ्रमणमा जाँदा र फर्किँदा अमेरिकालाई ट्रान्जिट बनाए । यस घटनाले चीन क्रुद्ध बन्यो । लायी ताइपेई ओर्लिएको एक दिनपछि अगस्ट १९ बाट चीनले ताईवान वरपरको क्षेत्रमा सैन्य अभ्यास सुरु गर्यो  । ताइवान र अमेरिकाले लायीको अमेरिकी ट्रान्जिट नियमित प्रक्रिया भएको बताउदाँ बेइजिङले भने लायीको अमेरिका भ्रमण ताइवानको ‘स्वतन्त्रता’को समर्थन वृद्धि गर्ने र आगामी निर्वाचनमा लाभ खोज्ने उनको ‘बेइमान चाल’ भएको टिप्पणी गर्यो । लायी आगामी वर्ष जनवरीमा हुने राष्ट्रपति चुनावका लागि सत्तारुढ डेमोक्य्राटिक पार्टीको राष्ट्रपति उम्मेदवार हुन् । 

ताइवान चीनको सत्तारुढ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि संवेदनशील मुद्दा रहँदै आएको छ । सन् १९४९ मा माओत्सेतुङको नेतृत्वको कम्युनिस्ट पार्टीसँग गृहयुद्धमा हारेपछि पराजित चीनको राष्ट्रवादी सरकार भोगेर ताइवानमा सर्यो ।  त्यसयता सो टापु स्वशासित रहँदै आएको छ । तर, जनवादी गणतन्त्र चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । चीनले ताइवानलाई नियन्त्रणमा लिन बल प्रयोगको सम्भावनालाई नकारेको छैन । चीनले बारम्बार अमेरिकी अधिकारीलाई ताइवानी नेताहरूसँग अन्तत्र्रिmया नगर्न वा तिनलाई कुनै पनि बहानामा अमेरिका प्रवेशको अनुमति नदिन आग्रह गर्दै आएको छ ।

ताइवान–अमेरिका सुमधुर सम्बन्ध 
सन् १९७९ मा अमेरिकाले ताइपेईस्थित सरकारसँग सम्बन्ध तोड्दै बेइजिङ सरकारलाई आधिकारित चीनको मान्यता दियो । त्यसयता ताइवानसँगको अमेरिकी सम्बन्ध ‘ताइवान रिलेसन एक्ट’द्वारा निर्देशित छ, जसअनुसार वासिंटनले ताइवानलाई प्रतिरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउने कानुनी आधार दिन्छ । तथापि सो एक्टले आक्रमण गरेको समयमा अमेरिकालाई ताइवानको प्रतिरक्षामा उत्रिने अधिकार प्रदान गरेको छैन । तर, वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न अवसरमा ताइवानको रक्षा गर्न बल प्रयोग गर्ने टिप्पणी गरिसकेका छन् । 

चीनले बारम्बार अमेरिकी अधिकारीलाई ताइवानी नेताहरूसँग अन्तर्क्रिया नगर्न वा तिनलाई कुनै पनि बहानामा अमेरिका प्रवेशको अनुमति नदिन आग्रह गर्दै आएको छ । 

ताइवान–बेइजिङ कटु सम्बन्ध
समय क्रममा ताइवान स्वतन्त्रता बनाउने पक्षमा रहेको सत्तारुढ डेमोक्य्राटिक पार्टीले ताइवानको विषयमा निर्णय गर्ने अधिकार त्यहाँको जनतासँग मात्र भएको बताउने गरेको छ । तथापि ताइवानको प्रमुख विपक्षी दल कोमिन्ताङले भने ताइवानलाई कुनै न कुनै रूपले चीनको हिस्सा बनाउनुपर्ने संकेत गर्ने गरेको छ । ऊ हङकङमा लागू भएजस्तो ‘एक देश, दुई प्रणाली’प्रति सकारात्मक देखिन्छ । 

चीनले पछिल्लो समय ताइवानलाई कुटनीतिक रुपमा एक्ल्याउने नीति लिएको छ । हाल विश्वका १३ देशले औपचारिक रूपमा ताइवानलाई देशको मान्यता दिएका छन् । सन् २०१६ मा वर्तमान डेमोक्य्राटिक पार्टीकी राष्ट्रपति साई इङ–वेन सत्तामा आएदेखि नौ देशले भने ताइवानसँगको सम्बन्ध तोडेर चीनसँग सम्बन्ध गाँसिसके । चीनले वर्तमान राष्ट्रपति साईलाई पृथकतावादीको रूपमा हेर्छ । साईले चीनसँगको तनाव कम गर्न वार्ताका लागि गरेको आह्वानलाई बेइजिङले अस्वीकार गर्दै आएको छ । साईले आफूहरूले शान्ति चाहेको भए पनि आक्रमण भए प्रतिरक्षामा उत्रिने बताएकी छिन् । चीनले साई सत्तामा आएदेखि सबै औपचारिक वार्तालाप बन्द गरेको छ ।
 

सुझावित समाचार