६ वर्षदेखि कागजमै सीमित औषधि सामग्रीको गुणस्तरसम्बन्धी निर्देशिका

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

निर्देशिका कार्यान्वयन नहुँदा बजारमा मनपरी ढंगले मेडिकल तथा औषधिजन्य सामग्री खरिद–बिक्री, गुणस्तरमाथि समेत प्रश्न 

औषधि सामग्रीको गुणस्तरीयतासम्बन्धी निर्देशिका ६ वर्षदेखि कागजमै सीमित भएको छ । औषधि उपकरणसँग सम्बन्धित सामग्रीको नियमन र गुणस्तरका लागि ६ वर्षअघि सरकारले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४’ ल्याएको थियो । तर, हालसम्म कार्यान्वयनमा आएको छैन ।

तत्कालीन र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अग्रसरमा सो निर्देशिका तयार भएको थियो । तर, त्यसपछिका सरकारले कार्यविधि कार्यान्वयनमा चासो नदिँदा मेडिकल उपकरण तथा सर्जिकल सामग्रीको गुणस्तरसम्बन्धी निर्देशिका कार्यान्वयन हुन नसकेको हो । त्यतिवेला स्वास्थ्यमन्त्री गगन थापा र निर्देशिकाको कार्यान्वयन गर्ने निकाय औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल थिए । ढकाल अहिले पनि विभागमै छन् । 

निर्देशिका कार्यान्वयन नहुँदा बजारमा व्यवसायीहरूले मेडिकल तथा औषधिजन्य सामग्री मनपरी ढंगले खरिद–बिक्री गर्ने गरेका छन् भने त्यसको गुणस्तरमाथि समेत प्रश्न उठ्ने गरेको छ । हाल सरकारले कुनै पनि औषधिजन्य सामग्रीको गुणस्तरता मापन र अनुगमनसमेत गर्दैन । निर्देशिकामा प्रविधिजन्य सबैखाले मेडिकल तथा औषधिजन्य सामग्रीको गुणस्तरता मापन, मूल्य, अन्तर्राष्ट्रिय मापदण्ड र प्रयोगबारे नीतिगत व्यवस्था गरिएको छ । तर, त्यसको कार्यान्वयनतर्फ सरकारी निकायको ध्यान नपुग्दा स्वास्थ्योपचारमा प्रयोग हुने अति संवेदनशील औषधिजन्य सामग्रीको गुणस्तरसमेत यकिन हुन सकेको छैन । 

निर्देशिका कार्यान्वयन नहुँदा विदेशी दाताहरूले दिएका मेडिकल उपकरण तथा औषधिजन्य सामग्री ब्रान्डेड हो वा सेकेन्ड ह्यान्ड भन्नेसमेत छुट्याउन सकिएको छैन । यसबाहेक निर्देशिकाले बिरामीको उपचारमा प्रयोग हुने सिरिन्ज, ब्लड कलेक्सन ट्युब, छाती र मुटुसम्बन्धी बिरामीको उपचार प्रयोग हुने महŒवपूर्ण उपकरणलगायतको गुणस्तरता र खरिद मूल्यबारे नीतिगत व्यवस्था गरेको छ । तर, यसको कार्यान्वयन नहुँदा अति संवेदनशील उपचारमा प्रयोग हुने प्रविधिजन्य उपकरणमा कस्तो गुणस्तरता छ भन्ने अन्योल रहेको जानकारहरू बताउँछन् । 

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक गजेन्द्र भुजूले कार्यविधि कार्यान्वयन नहुँदा बजारमा मेडिकल उपकरण तथा औषधिजन्य सामग्रीको जथाभावी प्रयोग भएको बताए । ‘यो कार्यविधि कार्यान्वयनमा ल्याउन सरकारलाई ठूलो जनशक्ति चाहिन्छ, यसका लागि छुट्टै ल्याब र प्राविधिक पनि चाहिन्छ,’ उनले भने, ‘यी संरचना तयार नभई कार्यविधि कार्यान्वयन हुन सक्दैन, त्यसकारण सरकारले यसमा ध्यान दिन जरुरी छ ।’ हाल बजारमा निजी क्षेत्रले ल्याएका सर्जिकल सामग्रीमा गुणस्तर छैन भने बिरामीको हातखुट्टामा राखिने मेटलसमेत गुणस्तरहीन भएको पूर्वमहानिर्देशक भुजूको भनाइ छ । विगतमा प्रचण्ड नै प्रधानमन्त्री भएका वेला निर्देशिका आएकाले यसको कार्यान्वयन पनि उनकै पालामा सम्भव हुन सक्ने भन्दै ध्यानाकर्षणसमेत गराए ।

‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ २५ वैशाख ०७४ मा बसेको मन्त्रिपरिषद् बैठकमा पेस भएर विधेयक समितिबाट पारित भएर १९ जेठमा स्वास्थ्य मन्त्रालयमा पठाइएका थियो । तर, नियमअनुसार ९१ दिनभित्र कार्यान्वयनमा आउनुपर्ने भए पनि हालसम्म निर्देशिका कागजमै थन्किएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी पसलहरूको समेत अनुगमनमा जोड दिए पनि यसको कार्यान्वयनमा भने चासो दिएको देखिन्न । 

हालसम्म नेपालमा स्वास्थ्य तथा औषधिजन्य सामग्री खरिद गर्दा मूल्य, त्यसको गुणस्तरता, अन्तर्राष्ट्रिय मापदण्ड, खरिद प्रक्रियालगायत विषय यकिन गर्ने सरकारी संयन्त्र नै छैन । यो काम औषधि व्यवस्था विभागले निर्देशिकामा टेकेर गर्नुपर्ने हो । नियमअनुसार औषधि व्यवस्था विभागले यो निर्देशिका कार्यान्वयन गर्नुपर्ने हो । तर, विभागले हालसम्म निर्देशिका कार्यान्वयन गर्न सकिरहेको छैन । विभागका महानिर्देशक नारायण ढकालले निर्देशिका कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताए । दक्ष जनशक्ति, बजेट, ल्याबको अभावलगायत कारण निर्देशिका कार्यान्वयन गर्न समस्या भएको उनको भनाइ छ । ‘हामीसँग सीमित बजेट छ, जनशक्ति पनि कम छ, यसबाहेक अन्य विविध कारणले निर्देशिका कार्यान्वयन गर्न सकिरहेका छैनौँ,’ ढकालले भने । उनले सरकारले बजेट र जनशक्ति उपलब्ध गराएमा कार्यान्वयन गर्न सहज हुने बताए । 

६ वर्षअघि यो निर्देशिका तयार पार्दा विभागका महानिर्देशकका रूपमा ढकाल नै थिए । तर, उनी त्यसको कार्यान्वयनमा चुकेका छन् । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले मेकिडल प्रविधि तथा औषधिजन्य सामग्रीको नियमन नहुँदा आफूहरूलाई समेत मर्का परेको बताए । नियमनकारी निकाय र निर्देशिका कार्यान्वयन हुँदा औषधिजन्य सामग्रीको गुणस्तर राम्रो हुने उनको भनाइ छ ।

के छ निर्देशिकामा ?

निर्देशिकामा औषधिजन्य सामग्री नियमनबारे औषधि व्यवस्था विभागलाई अधिकार दिने गरी नीतिगत व्यवस्था गरिएको छ । निर्देशिकाको दफा १० मा सामग्री तथा उपकरणको गुणस्तर परीक्षण गर्नेबारे व्यवस्था छ । त्यस्तै, दफा १३ मा अधिकतम खुला मूल्यबारे उल्लेख छ । दफा १३ मै मुटुभित्र प्रयोग गरिने डिभाइस, हातखुट्टा, शरीरको कुनै अंग भाचिँदा प्रयोग गरिने मेटल, स्क्रु ड्राइभरको गुणस्तरीयता, त्यसको मूल्यलगायतबारे उल्लेख गरिएको छ । त्यस्तै, रगत परीक्षण गर्न शरीरबाट रगत झिक्ने सुईलगायत रगत राख्ने भाँडा (कलेक्सन ट्युब)को गुणस्तरबारे पनि व्यवस्था गरिएको छ । विभागले विदेशी दाताले दिएका औषधिजन्य सामग्रीको मापन गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा छ ।

See More On

सुझावित समाचार