देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । 

मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन् । 

प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछ।’

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन,’ ‘प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छन्। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

प्रधानमन्त्रीले भने, ‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरुरी छ। असफल भएको विकास मोडेललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ।’

‘नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ। त्यसको नतिजा क्रमशः आउनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस्।’

सुझावित समाचार