प्रेरक प्रसंग : सही दिशाको यात्रा

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

एक पहलमानजस्ता हट्टाकट्टा मानिस सहरको एउटा स्टेसनमा उत्रिए । उनले एक ट्याक्सी चालकसित भने– म पशुपतिनाथ मन्दिर जान चाहन्छु । त्यहाँसम्मको भाडा कति लाग्छ ? चालकले विनम्रतापूर्वक जवाफ दिए– दुई सय रुपैयाँ लाग्छ सर ! पहलमानले भने– गाउँबाट आएको सोझो मान्छे देखेर लुट्न खोज्दै छौ कि के हो ? भैगो, त्यहाँसम्म म आफ्नो झोला आफैँ बोकेर हिँडेरै जान्छु । 

ती पहलमान झोला बोकेर आफ्नो बाटो लागे । निकै लामो समय हिँड्दा पनि उनी गन्तव्यमा पुग्न सकेनन् । साथै, गन्तव्य कति टाढा छ, त्यसको पनि उनलाई कुनै अनुमान भएन । केहीबेर थप हिँडिसकेपछि उनले पुनः पहिलेकै ट्याक्सी चालकलाई भेटे । उनले चालकसित भने– गुरुजी, अब त मैले आधाभन्दा बढी सडक त हिँडेरै पार गरिसकेँ ।

अबचाहिँ पशुपतिनाथ मन्दिरसम्म गएको कति लिनुहुन्छ त ? ट्याक्सीचालकले मुसुक्क हाँस्दै पहिलेजस्तै विनम्रतापूर्वक जवाफ दिए– अब मन्दिरसम्म पुग्न चार सय रुपैयाँ लाग्छ सर ! चालकको जवाफ सुनेर ती पहलमानले अचम्म मान्दै प्रश्न गरे– पहिले दुई सय, अब आधा बाटो पार गरिसकेपछि चार सय ? यस्तो लुट किन ? ट्याक्सी चालकले पुनः पूर्ववत् मुस्कुराउँदै जवाफ दिए– महोदय, तपाईं अहिलेसम्म पशुपतिनाथ मन्दिरको दिशामा होइन, त्यसको ठिक विपरीत दिशातिर हिँडिरहनुभएको छ । मन्दिर एकातिर छ भने तपाईं अर्कैतिर दौड लगाइरहनुभएको छ । अनि, लाग्दैन त चार सय ? चालकको जवाफ सुनेपछि ती पहलमान केही नबोली चुपचाप ट्क्यासीमा बसे ।

सुझावित समाचार