ऐतिहासिक सुर्मा भवानी जात्रा [तस्बिरसहित]

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा मनाइने सुर्मा भवानीको जात्रा सुरु भएको छ। औँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने जात्रा शनिबारदेखि सुरु भएको हो।

अपी हिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइन्छ। उच्च हिमशृंखलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

बझाङका सिकारीले लखेट्दा सुर्मा भवानी विलय भएको मानिएको सुर्मा तालमा अपी हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले सरोवरमा पूजा गरेपछि बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको छ।

जात्राका लागि क्षेत्ती पुर्ख्याैलीघर भएका स्थानीय र घाजिर घर भएका समुदायका तीर्थालुहरूले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्मा भवानीको व्रत बस्नुपर्ने परम्परा छ। यस जात्रामा सहभागी हुनेहरूलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर, मासु, रक्सीजस्ता भोजन निषेध गरिएको छ।

यो जात्राको समयमा क्षेत्ती र घाजिरका स्थानीयले १५ दिनसम्म जुत्ता–चप्पल लगाउँदैनन् । सो अवधिमा आफूले लगाएको लुगा माथि सार्नसमेत नपाइने स्थानीय नरेन्द्रसिंह मन्यालले भने। उनले भने, ‘जात्रामा गएकाहरूको टाउकोमा टोपी, सल वा केही न केही हुनैपर्छ।’ घाजिरदेखि क्षेत्ती हुँदै सुर्मा पुगेर फर्किएपछि जात्रा समापन हुन्छ।

सुझावित समाचार