यसरी बनेको थियो नेपालकै पहिलो हाइड्रो फर्पिङ

अर्थ ज्ञान

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौंदेखि करिब १२ किलोमिटर दक्षिण–पश्चिममा रहेको उक्त आयोजना १९६८ मा बनेको हो । यसको निर्माण वि.सं. १९६४ मा सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६४ मा बेलायत भ्रमण गरेर फर्किएपछि यो आयोजना निर्माण गर्ने काम अघि बढाएका थिए ।

उक्त आयोजनाको डिजाइन तथा योजना नेपाली सेनाका इन्जिनियर कर्णेल किशोरसिंह राणाले गरेका थिए । साथै, बेलायतको जनरल इलेक्ट्रिक नामक कम्पनीबाट लिन्जा नाम गरेका एक इन्जिनियरलाई पनि सरकारले ल्याएको थियो । तत्कालीन समयमा उक्त आयोजना बनाउन सात लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । नेपालले इंग्ल्यान्ड सरकारको आर्थिक सहयोगमा उक्त आयोजना बनाएको थियो ।

यसरी बनेको नेपालको पहिलो जलविद्युत् आयोजनालाई तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले उद्घाटन गरेका थिए । राजा शाहले वि.सं. १९६८ जेठ ९ गते साँझ ६ः३० बजे टुँडिखेलबाट बत्ती बालेर उक्त आयोजनाको उद्घाटन गरेको इतिहास छ । चन्द्रशमशेरले बनाएको हुनाले उक्त आयोजनाबाट उत्पादित विद्युत्लाई श्री चन्द्रज्योति प्रकाश भनिन्थ्यो । उक्त आयोजनाको विद्युत् ११ केभीको वितरण प्रणालीमार्फत काठमाडौंमा ल्याइएको थियो । टुँडिखेलमा सबस्टेसन बनाएर उक्त विद्युत् काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तत्कालीन समयमा काठमाडौंमा बस्ने राणा र हुनेखाने वर्गका परिवारले मात्र उक्त विद्युत् प्रयोग गर्न पाएका थिए ।

उक्त आयोजना सञ्चालन गर्न बिजुली अड्डा नामको एक संस्था स्थापना गरिएको थियो, जुन अहिले नेपाल विद्युत् प्राधिकरणको नाममा स्थापित छ । यस आयोजनाबाट ६० वर्ष अर्थात् ०३८ सम्म विद्युत् उत्पादन गरियो । त्यसपछि काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत्गृह सञ्चालन बन्द भएको थियो । केन्द्रको  मर्मत–सम्भार गरी पुनः ०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।
 

सुझावित समाचार