प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा या गृहमन्त्री हुँदा मेरा कामकारबाहीमा एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइपल्टाइ निर्णय गर्ने गरेको छु । त्यसकारण तिनीहरूका जस्तासुकै इच्छाले केपी ओलीलाई फसाउन सक्दैन, माकुराको जालामा भैँसी पर्दैन भन्ने कुरा बुझ्नुपर्छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शक्तिको दुरुपयोग गरेर अहिलेसम्म कानुनविपरीत काम नगरेको दाबी गरेका छन् । झापाको गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टासम्बन्धी छानबिन भए एमाले अध्यक्ष ओली तानिन सक्ने कतिपयको आशंकालाई लक्षित गर्दै ओलीले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा चुनौतीसहित प्रतिवाद गरेका हुन् ।
कानुनले हतकडी लगाउने काम गरेको छैन : केपी ओली, अध्यक्ष, एमाले
मलाई पञ्चायतले हुँदै नभएका मुद्दामा १० वर्ष कैद गर्यो, १० वर्ष भुक्तान भएपछि पनि चार वर्ष त्यसै थुन्यो । त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो, तर कानुनले हतकडी लगाउन सक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, अहिलेसम्म राखेको छैन ।
प्रधानमन्त्री प्रचण्डले अघिल्लो साता गिरीबन्धुको टी इस्टेटसम्बन्धी निर्णय पनि छानबिन हुने बताएका थिए भने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले मंगलबार सुनकाण्डमा ओली मुछिएको ठोकुवा गर्दै उनी यस वर्ष नै जेल पर्ने दाबी गरेका थिए । दुवैजनाको अभिव्यक्तिलाई लक्षित गरेरै ओली आक्रामक प्रतिवादमा उत्रिएका हुन् ।
‘यत्रो भ्रष्टाचार र तस्करीका काण्ड भएका छन्, ती सबै छोप्न सजिलो भएको छ । एमालेले राम्रो केही गरेन, नराम्रो मात्रै गर्यो भन्छन्,’ ओलीले भने, ‘मलाई पञ्चायतले हुँदै नभएका कुरामा १० वर्ष कैद गर्यो, १० वर्ष भुक्तान भएपछि पनि चार वर्ष त्यसै थुन्यो । १४ वर्ष जेल बसेँ । त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो, झुटमै जाने हो भने । तर, कानुनले हतकडी लगाउन सक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, अहिलेसम्म राखेको छैन ।’
प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीका रूपमा काम गर्दा कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगरेको दाबी गर्दै ओलीले जतिसुकै जालझेल र षड्यन्त्र गरे पनि कसैले आफूलाई जेल पठाउन नसक्ने ठोकुवा पनि गरे । ‘विरोधीहरूले पाएसम्म न्यायका विरुद्ध, सत्यका विरुद्ध द्रोह गर्छन्, तीनले सत्यका विरुद्ध काम गर्छन् । ती तत्वहरू हाम्राविरुद्ध आइलाग्न सक्छन् । कानुनी रूपमा पनि कहीँकतै एक शब्द नचिप्लियोस् भनेर मैले बढी नै सर्तक अपनाएको छु । प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा, गृहमन्त्री हुँदा मेरा कामकारबाहीमा एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइपल्टाइ निर्णय गर्ने गरेको छु,’ ओलीले भने, ‘त्यसकारण तिनीहरूका जस्तासुकै इच्छाले केपी ओलीलाई फसाउन सक्दैन, माकुराको जालोमा भैँसी पर्दैन भन्ने कुरा बुझ्नुपर्छ ।’
आफूलाई भौतिक रूपमै समाप्त पार्न षड्यन्त्र भएको दाबी गर्दै उनले देश बनाउने अभियानबाट कहिल्यै पछि नहट्ने पनि प्रतिबद्धता जनाए । ‘यिनीहरू माकुराको जालो बनाइरहेका छन्, केपी ओलीलाई मार्न । केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ, न जिउले थाहा पाउँछ । केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढिरहेको छ ।’
मलाई पञ्चायतले हुँदै नभएका मुद्दामा १० वर्ष कैद गर्यो, १० वर्ष भुक्तान भएपछि पनि चार वर्ष त्यसै थुन्यो । त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो, तर कानुनले हतकडी लगाउन सक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, अहिलेसम्म राखेको छैन ।