नेपालमा एसियाली शारीरिक सुगठन हुने

प्रतियोगितामा २५ राष्ट्रका तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता १५ भदौमा काठमाडौंमा हुने भएको छ । नेपालमा पहिलोपटक हुन लागेको एसियालीस्तरको प्रतियोगितामा २५ राष्ट्रका तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता याक एन्ड यती होटेलमा हुनेछ । जसमा पुरुषतर्फ २८ र महिलामा १६ विधा समावेश छन् । यसैगरी, मिक्स एक गरी कुल ४५ विधामा प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

सात दिनसम्म चल्ने प्रतियोगिताको १६ भदौमा म्यानेजर्स मिटिङ, निर्णायक मिटिङ, डोपिङ सेमिनार तथा एसियाली कंग्रेसको आयोजना हुनेछ । १७ भदौमा खेलाडीहरूको तौल तथा हाइट मेजरमेन्टसँगै उमेरसमूहको जाँच गर्ने कार्य हुनेछ ।
आधिकारिक रूपमा १८ भदौमा प्रतियोगिताको उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो दिन १६ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा नेपाली १४ खेलाडीले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । १९ भदौमा २० विधामा प्रतिस्पर्धा हुनेछ । यस दिन २४ नेपाली खेलाडीले १७ समूहमा प्रतिस्पर्धा गर्नेछन् । २० भदौमा नौ विधामा प्रतिस्पर्धा हुने र पाँचजना नेपाली खेलाडीले चारवटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरी १० समूहका पहिलो हुने खेलाडीबीचको प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । उनलाई मिस्टर एसिया २०२३ घोषित गरिनेछ । शीर्ष तीन स्थान प्राप्त गर्ने तीन राष्ट्रका खेलाडीलाई पहिलो, दोस्रो र तेस्रो स्थान घोषणा गरिनेछ । 

सुझावित समाचार