हामी आफ्ना बच्चाहरूलाई खुसी र सफल हुने गरी हुर्काउन चाहन्छौँ । उनीहरूलाई टिमवर्क, आत्मविश्वास र प्रतिबद्धता सिकाउनु महŒवपूर्ण हुन्छ । बालबालिकाले आफूवरपरको वातावरणमा घुलमिल हुँदै यस्ता कुरा सिक्दै जान्छन् । मिडिया अर्को महŒवपूर्ण पाटो हो । फिल्म, टिभी सो, पुस्तक, भिडियो गेम, सामाजिक सञ्जाल आदिले बालबालिकाको चरित्र निर्माण गर्न भूमिका खेलिरहेका हुन्छन् ।
समय निर्धारण गर्नुस्
लगातार डिजिटल डिभाइसमा झुम्मिँदा विभिन्न मानसिक तथा शारीरिक समस्या देखिन सक्छन् । तर, डिजिटल दुनियाँबाट तपाईंले आफ्ना छोराछोरीलाई अलग राख्न सम्भव छैन । त्यसैले उनीहरूको मनोभावना बुझ्नुहोस् र डिजिटल दुनियाँमा उपलब्ध सकारात्मक सामग्रीहरूतर्फ उनीहरूको ध्यान आकर्षित गर्ने प्रयास गर्नुहोस् । निश्चित समय डिजिटल डिभाइस चलाएपछि यसको प्रयोग बन्द गर्नुपर्छ भन्ने सोच पनि उनीहरूमा विकास गरिदिनुपर्छ ।
खेल हेर्नुहोस्
टेलिभिजनमा खेल हेर्दा अभिभावक र बच्चा दुवै रिफ्रेस हुन्छन् । यसरी खेल हेर्दा बच्चाले अभिभावकसँगको आफ्नो सम्बन्धलाई पनि थप नजिक पाउँछ । आफूलाई मन परेको टिम वा खेलाडीबारे जानकारी लिने इच्छा गर्छ । टिमवर्कबारे बुझ्छ । सफलता हासिल गर्नका लागि मिहिनेत गर्नुपर्ने रहेछ भन्ने बुझ्दै जान्छ ।
सामाजिक सञ्जाल
युट्युब, फेसबुक वा इन्स्टाग्राममा कुनै सुन्दर वा सिर्जनात्मक पोस्ट भेट्नुभयो भने यसलाई बच्चासँग सेयर गर्नुस् । बिस्तारै बालबालिकालाई सामाजिक सञ्जालमा राम्रा कुराहरू हेर्ने र पढ्ने बानी बस्दै जान्छ ।
क्षितिज फराकिलो पार्नुहोस्
फरक जीवन बाँचिरहेका प्रेरक मानिसबारेका वृत्तचित्र वा फिल्म हेर्दाको मज्जा बेग्लै हुन्छ । यसले भावना, लगनशीलता र विनम्रताको विकास गर्छ । अलग मान्यता, फरक संस्कृति र भूगोलका विषयमा तपाईं र बालबालिकालाई जानकारी दिन्छ । बालबालिकाको सोचलाई फराकिलो बनाउँदै लान्छ ।
भिडियो गेम खेल्नुस्
बच्चालाई एक्लै भिडियो गेममा झुम्मिन दिनुको साटो उनीहरूसँगै तपाईं पनि गेम खेल्नुस् । राम्रो भिडियो गेमले समस्या समाधान गर्ने खुबी, टिमवर्क, सञ्चार र धैर्यको विकास गर्छ । रमाइलो पनि हुन्छ । मल्टिप्लेयर गेम्सहरू चयन गर्नुस्, यस्ता गेममा जित्नका लागि सबैले उत्तिकै मिहिनेत गर्नुपर्ने हुन्छ ।
(एजेन्सीको सहयोगमा)