नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्।
दुई दिनसम्म चलेको पार्टीको पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै उनले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्। अध्यक्ष नेपालले आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण सुनाए।
अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ। र, सँगसँगै हामीले विद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद् सबै तत्कालीन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नुहुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण साथीहरूमाथि, पार्टीका कार्यकर्तामाथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि उहाँले बैठकमा जानकारी गराउनुभयो।’
बैठकमा पोलिटब्युरो सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए। भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रूपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए।