त्रिभुवन विमानस्थलबाट मरामद भएको ६० किलो सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पाइएको छ।
हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए।
टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए। बरामद गरिएको सुन गत ३० साउनमा गालेर बिस्कुट बनाई जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो।
राजस्व अनुसन्धान विभागले गत ३ साउनमा सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेकसु’ बरामद गरेको थियो।
अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।