एकीकृत समाजवादी भ्रष्टाचारविरुद्ध खरो उत्रन नसकेको गुनासो

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

सत्तारूढ दल एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा भ्रष्टाचार र जनजीविकाको सवालमा पार्टी खरो रूपमा उत्रन नसकेको चर्चा भएको छ । आइतबार बोलेका अधिकांश पोलिटब्युरो सदस्यले भ्रष्टाचारविरोधी अभियानलाई सडक, सदन र सरकारबाट खरो रूपमा उठाउन सुझावसमेत दिए । 

सरकार र संसद्मा पार्टीको भूमिका प्रभावकारी नभएको गुनासोसमेत बैठकमा व्यक्त भएको छ । ‘विकास निर्माणमा भ्रष्टाचार, कमिसनले बाधा पुर्याएको छ । जनजीविकाका तमाम सवाल छन् । तर, हाम्रो उपस्थिति न सरकारमा प्रभावकारी देखिएको छ, न सदनमा,’ सदस्यहरूको भनाइको निष्कर्ष सुनाउँदै एक पोलिटब्युरो सदस्यले भने, ‘गठबन्धन सरकारले भ्रष्टाचारविरोधी अभियानका क्रममा गरेका राम्रा र पार्टीले गरेका राम्रा कामको समेत प्रचारप्रसार पर्याप्त हुन सकेको छैन ।’ 

सदस्यहरूले ०७९ को निर्वाचनपछि राष्ट्रिय राजनीतिको परिस्थिति फेरिएको भन्दै एमाले, रास्वपा र राप्रपाले भ्रम फैलाउने काम गरेको जिकिर गरे । पोलिटब्युरो सदस्य दिलु पन्तका अनुसार प्रतिपक्ष दलहरूले गठबन्धन सरकारविरुद्ध भ्रम फैलाएर जनतालाई अलमल्याएको भन्दै सदस्यहरूले भ्रम चिर्ने गरी रणनीतिक योजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिएका छन् । ‘०७९ को निर्वाचनपछि राजनीतिक परिस्थिति फेरिएको छ । सरकार गठबन्धनको छ । विपक्षी एमाले, राप्रपा, रास्वपाले भ्रम फैलाएका कारण जनता अन्योलमा रहेका छन् । भ्रमपूर्ण कुराको खण्डन गर्नुपर्छ । जनतालाई यथार्थ अवस्था बताउनुपर्छ,’ बैठकमा व्यक्त भएका धारणा सुनाउँदै उनले भनिन् । 

बैठकमा सदस्यहरूले विदेशी चलखेल भइरहेको पनि बताएका छन् । समस्यालाई छिटो–छरितो निराकण गरेर पार्टीलाई सशक्त बनाउनुपर्नेमा सदस्यहरूले जोड दिएका छन् । जनवर्गीय संगठनहरूलाई विषयकेन्द्रित बनाएर परिचालन गर्नुपर्ने सुझाव पनि पोलिटब्युरो सदस्यहरूको छ । 

नबिराउनू, नडराउनू माधवकुमार नेपाल, अध्यक्ष
कतिपयले नियोजित हल्ला गर्छन् । हामी नबिराउनू, नडराउनू भन्ने मान्यतामा विश्वास गर्छौँ । राम्रो काम गर्दा डराउनुपर्दैन । भ्रष्टाचार हिजो पनि गरिएन, आज पनि गरिएको छैन । भोलि पनि गर्दैनौँ । नियमसम्मत काम गर्दा डराउनुपर्दैन । सत्य, कानुन र संविधान रक्षाका निम्ति हामीले लडेको हो । समाजवादीले हीनताबोध गर्नुपर्दैन ।
 

सुझावित समाचार