समाजशास्त्री प्रकाश राईलाई तीन प्रश्न

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

नेपालमा एकै वर्षमा २० प्रतिशतले अपराध बढेछ । खासमा समाजमा अपराध किन हुन्छ ?
अपराधका विभिन्न आयाम हुन्छन् । अपराधअनुसार यसका आधार फरक–फरक हुन्छन् । हामीकहाँ जसरी धन कमाए पनि कोही धनी छ भने ऊ सम्मानित हुने र उसका पछाडि मानिसहरू लाग्ने प्रवृत्ति व्याप्त छ । यसले गर्दा मानिसहरू रातारात धनी बन्ने सपना देखेर अपराध कर्ममा होमिन्छन् । पितृसत्तात्मक संरचनाका कारण समाजमा महिलामाथिका यौनजन्य हिंसा भइरहेका हुन्छन् । 

समाजमा अपराध बढ्नुमा सामाजिक संरचना नै जिम्मेवार हुन्छ भन्न खोज्नुभएको हो ?
पक्कै पनि कुनै पनि अपराध कर्मका लागि हाम्रो सामाजिक संरचना जिम्मेवार हुन्छ । उदाहरणका लागि अहिले चर्चामा रहेको सुनकाण्डलाई हेर्न सकिन्छ । यसका पछाडि हाम्रो ‘पोलिटिकल इकोनोमिक स्ट्रक्चर’ जिम्मेवार छ । कुनै पनि यौन हिंसाका लागि हाम्रो पितृसत्तात्मक संरचना जिम्मेवार हुन्छ । जातीय अपराधका लागि हाम्रो जात व्यवस्थासम्बद्ध संरचना जिम्मेवार हुन्छ । राजनीतिक नेताहरू भ्रष्ट बन्नुमा हाम्रो निर्वाचन प्रणाली जिम्मेवार हुन्छ ।

अपराध रोकथाम या न्यूनीकरणमा समाजको कस्तो भूमिका हुन्छ ?
हरेक अपराध हाम्रा सामाजिक संरचनाका ‘बाइप्रडक्ट’ हुन् । त्यसैले, अपराध रोकथाम या न्यूनीकरणका लागि हाम्रा सामाजिक संरचनालाई परिवर्तन गर्नैपर्छ । हाम्रो पितृसत्तात्मक सामाजिक संरचनालाई नढालीकन एकदुईजना बलात्कारीलाई पक्रेर सजाय दिँदैमा समाजबाट बलात्कार या यौनहिंसा रोकिन्न । राजनीतिक तहको भ्रष्टाचार रोक्ने हो भने अहिलेको महँगो निर्वाचन प्रणाली बदल्नुपर्छ । 

सुझावित समाचार