बालेनलाई चमेलीहरूको प्रश्न– गरिबको गीत गाउने मान्छे किन ‘बन्ठे’ भयौ ?

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

चुनावअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै गीत गाएर मन जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई नागरिकले उनकै शैलीमा प्रश्न गरेका छन्। महानगरले फुटपाथमा व्यवसाय गर्नेहरूलाई विनाविकल्प हटाएपछि उनीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन गर्दै सहर धनीका लागि मात्रै हाे भन्दै प्रश्न गरेका हुन्।

‘गरिखान देऊ’ भन्दै उनीहरूले राष्ट्रिय सभागृहअगाडि आइतबार एक घण्टा धर्ना दिएका छन्। धर्नामा फुटपाथ व्यवसायीलाई ठेलागाडा व्यवसायी, अभियन्ता, विद्यार्थी, स्वतन्त्र युवाहरूले साथ दिएका थिए। उनीहरुले ‘गरिब होइन गरिबी हटाऊ’ भन्दै गरिबको चमेली बोल्दिने कोही छैन गीतसमेत गाए।

प्रदर्शनमा सहभागीहरूले ‘सहर सबैका लागि कि धनीका लागि मात्रै ?’ भन्दै मेयर बालेन्द्र साह (बालेन)लाई प्रश्न गरेका छन्। उनीहरूले ‘हिजो गरिबको गीत गाउने मान्छे, आज किन बन्ठे भयौ ?’ ‘गरिखान देऊ’, ‘बालबच्चा कसरी पढाउने ? दुई छाक टार्न गाह्रो भयो ’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका थए।

सडक–साइकल–गाडालगायतमा मजदुरी गर्नेलाई विस्थापित गर्नुको साटो महानगरले विकल्प दिनुपर्ने उनीहरूको माग छ।

सुझावित समाचार