बालविकासमा देखिने चुनौतीको समाधान

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

बाल्यावस्थाले मानिसको समग्र जीवनमा प्रभाव पर्छ । त्यसैले हामीले बालबालिकाको शारीरिक तथा मानसिक विकासका क्रममा देखिने चुनौतीहरूलाई पहिल्याएर यसको समाधान खोज्नुपर्छ । महिना नपुगी जन्मिँदा, सुगरको मात्रा कम हुँदा, पोषणको कमी वा अन्य कुनै कडा संक्रमणको कारणले गर्दा पनि बालविकासमा अवरोध पुगेको हुन सक्छ । 

बोलीको विकास : बच्चाले एक वर्ष भएपछि शब्द उच्चारण थाल्नुपर्ने भए पनि कतिपय बालबालिकाको बोली ढिलो फुट्छ । वंशानुगत कारणले पनि यस्तो भएको हुन सक्छ, अन्य कारण पनि हुन सक्छन् । समयमै बोली फुटेन भने बालबालिकालाई चिकित्सककहाँ लगेर देखाउनुपर्छ ।

हिँडडुल : सामान्यतया १३ महिनामा बालबच्चा हिँडडुल गर्न सक्नुपर्छ । यस्ता कुरा आफ्ना बच्चाले गरेको छ कि छैन भनेर अभिभावकले ख्याल गर्नुपर्छ । हिँडडुल गर्न ढिला हुनुका कारण धेरै हुन सक्छन् । ढिलाइ भएमा चिकित्सकसँग परामर्श थाल्नुपर्छ । 

केही समस्या

अटिजम : ढिलो बोली फुट्नु वा सुन्ने शक्ति कमजोर हुनुको कारण अटिजम पनि हुन सक्छ । अटिजम भएका बालबालिकाको विकास अरूभन्दा पृथक् र ढिला गतिमा हुने गर्छ । उनीहरू अन्यसँग कम घुलमिल हुन्छन् । यस्ता बालबालिकालाई अभिभावकले विशेष ख्याल राख्नुपर्छ । विभिन्न थेरापीका माध्यमबाट उनीहरूलाई बोल्ने कला सिकाउन सकिन्छ । त्यस्तै, हिँडडुल गर्न उत्प्रेरित गर्न सकिन्छ । हामीले बुझ्नुपर्ने कुरा अटिजम भएको बच्चामा अन्य बच्चाको दाँजोमा ७० प्रतिशत बौद्धिक क्षमता बढी हुन्छ । त्यसैले उनीहरूलाई सानैदेखि विशेष हेरचाह गरेर सामाजिक कुराहरू सिकाउँदै गइयो भने हरेक कुरामा अब्बल बनाउन सकिन्छ । त्यसका लागि पहिले चिकित्सकसँग परामर्श गरेर बालबालिकाको परीक्षण गर्नुपर्ने हुन्छ ।

डाउन सिन्ड्रोम : कतिपय बालबालिकामा डाउन सिन्ड्रोम पनि हुन सक्छ । बच्चाको कुनै अंगको विकास ढिलो भएको हो वा समग्र विकास ढिलो भएको हो, कुन समस्याबाट बालबालिका प्रभावित छन् भनेर चिकित्सकले परीक्षणमार्फत निक्र्योल गर्न सक्छन् । 

मनोपरामर्श : कतिपय बच्चालाई लेख्न, पढ्न पनि समस्या भइरहेको हुन्छ । कोही बच्चामा आवश्यकताभन्दा धेरै चकचक गर्ने स्वभाव पनि हुन्छ । यसमा पनि अभिभावकले हैरानी मान्नुहुँदैन । उनीहरूको अवस्था र मनोभाव बुझ्ने प्रयास गर्नुपर्छ । मानसिक विकासमा देखिएका समस्याबारे मनोचिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ । 

सम्भावित कारण
महिना नपुगी जन्मिँदा, सुगरको मात्रा कम हुँदा वा अन्य कुनै कडा संक्रमणको कारणले गर्दा पनि बालविकासमा अवरोध पुगेको हुन सक्छ । पौष्टिक तŒव जस्तै, भिटामिन ‘ए’, ‘बी’, आइरनलगायतको कमीले गर्दा पनि बालविकास ढिला भएको हुन सक्छ । त्यसैले यस्ता समस्यालाई बेवास्ता गर्नुहुँदैन । चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ । उपचार प्रक्रिया थाल्ने हो भने समाधान पहिल्याउन सकिन्छ । 

समाधानका केही उपाय 
बच्चा अल्छी भएमा कापीमा कोर्न लगाउने, खेलौनाहरू खेल्न दिनेलगायत काम गरेर सक्रिय बनाउन सकिन्छ । स्कुल जाने उमेर भएपछि साथीभाइसँग घुलमिल हुन प्रेरित गर्ने गर्नुपर्छ । यसो हुँदा बालविकास सहज हुन्छ । उनीहरूलाई बिस्तारै आफैँ हात धुन सिकाउने गर्नुपर्छ । बच्चालाई मानसिक रूपमा सुदृढ बनाउनका लागि विभिन्न कलर नम्बरहरू राखिएका पजल खेल्न सिकाउने गर्नुपर्छ । यसले उनीहरूलाई स्मार्ट बनाउँछ । 

उनीहरूलाई शारीरिक गतिविधिमा सक्रिय गराउनुपर्छ । बच्चाको इच्छाअनुसार विभिन्न खेल खेलाउन सकिन्छ । शारीरिक सक्रियताले हड्डी र मांसपेशी बलियो बनाउँछ, रक्तसञ्चार राम्रो बनाउँछ र मानसिक रूपमा सुदृढ बनाउँछ । पोषण, अभ्यास र निद्राले उनीहरूको विकासमा ठूलो भूमिका खेलेको हुन्छ । सामाजिक र भावनात्मक पक्षलाई उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । परिवारसँगै बसेर खेल्ने, गाउने, कुराकानी गर्नेलगायत बानीले उनीहरूलाई आत्मविश्वासी बनाउँछ । 

बच्चालाई स्नेह देखाउनुपर्छ । उनीहरूका कुरालाई बेवास्ता गर्नुहुँदैन, उनीहरूका रुचिमा अभिभावक संवेदनशील छन् भन्ने देखाउनुपर्छ । उनीहरूलाई एउटा निश्चित रुटिन बनाएर त्यसैको पालना गर्न सिकाउनुपर्छ । अनुशासन सिकाउनुपर्छ, तर अनुशासन सिकाउने नाममा धेरै कडा हुने वा हप्काउने गर्नुहुँदैन । 

सुझावित समाचार