ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन्।
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने बताए।
‘सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्धन गरेको छ। विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौँ,’ उनले भने, ‘विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ। हामीले यसलाई अझ बढी महत्व दिनुपर्छ।’
मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गरे। जनताले चाहँदा व्यवस्था बदलिएको र त्यसैगरी आर्थिक, सामाजिक रूपान्तरणको अवस्था बदलिन पनि सक्छ भन्ने धारणा उनको थियो।
बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताए। उनले नियमावलीमा समावेश गरेर नीतिगत रूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे। उनले सामुदायिक विद्युतीकरणमा जिल्ला विकासले गरेजस्तै अहिले समन्वय समितिले पनि सहयोग, समन्वय र सहजीकरण गर्ने बताए।
कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका महासचिव गोविन्द पौडेल, कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईं, संस्थाका पूर्वअध्यक्ष रामकृष्ण हुमागाईं, संस्थाका उपाध्यक्ष उद्वव पराजुलीलगायतले कार्यक्रममा आआफ्ना सरोकार राखेका थिए।
ललितपुरको दक्षिणी भेगमा रहेका तत्कालीन १९ वटा गाउँ विकास समितिमा विद्युतको सेवा पुगेको थिएन। २ भदौ ०६१ देखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत विद्युतीकरणको ग्राहक सेवा सुरु भएको थियो। देवीचौर अहिले गोदावरी नगरपालिकाको वडा नं ७ भएको छ भने बाँकी बागमती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन्।
दक्षिण ललितपुरका सात हजार पाँच सयभन्दा बढी घरघुरीमा विद्युतीकरण हुँदा गाउँघरमा नै उद्योग सञ्चालन गर्न, टेलिफोन टावर राख्न सहज भएको छ।