कांग्रेस कमजोर हुँदा उपलब्धि गुम्ने खतरा छ : सिंह

शनिबार, २ भदौ, २०८०
डिजिटल संस्करण

कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर हुँदा अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि नै खतरामा पर्न सक्ने बताएका छन्। परिवर्तन नरुचाएका तत्व सलबलाउन कोसिस गरिरहेकाले सबै मिलेर प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने उनको भनाइ छ 

कांग्रेस काठमाडौंको क्षेत्र नम्बर १ सम्मेलन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसले पनि आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। 

‘अहिलेको राजनीतिक परिवर्तन जोगाउन कांग्रेस सवल बन्नुपर्छ,’ उनले भने, ‘सबै राजनीति शक्तिहरूलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्र भएकाले पनि कांग्रेसको काँधमा जिम्मेवारी आएको छ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका सिंहले प्रतिपक्षी दलको अवरोधका कारण संसद् चल्न नसकिरहेको भन्दै संसदको गतिरोध खुलाउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे। 

कांग्रेस पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा चलिरहेको भन्दै उनले एक कांग्रेसले अर्को कांग्रेसलाई प्रतिस्पर्धी देख्दै जाँदा यो अवस्था आएको बताए। प्रतिस्पर्धा गर्ने शक्ति कांग्रेसभित्र नभई बाहिर रहेको उनको भनाइ थियो। 

कार्यक्रममा सहमहामन्त्री भीष्मराज आङ्दाङबेले कांग्रेसभित्र अनावश्यक रूपमा उमेरको बहस चलेको भन्दै सबै उमेरसमूह मिलाउनुपर्ने धारणा राखे। 

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टी संगठन गतिशील र चलायमान बनाउन सके अरू कुनै शक्तिले कांग्रेसलाई चुनौती दिन नसक्ने बताए। 

सुझावित समाचार