नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले स्थायी सरकार मानिने कर्मचारीसहित सबै मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने धारणा राखेका हुन्। अहिले पार्टीका नाम जे राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको देउवाको भनाइ थियो।
‘वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरू चलायमान बनाउनुपर्छ। अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ,’ उनले भने।
सभापति देउवाले डेंगु संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायहरू अवलम्बन गर्नुपर्ने उल्लेख गरे।