झापाको मेचीनगर– ८ स्थित प्रगतिशील टोलमा एक पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ। मेचीनगर– ८ का ४३ वर्षीय सुन्दर किसानको शव खोल्सामा शंकास्पद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको शरीरमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। बाटोमा चप्पल र रगत देखिएपछि प्रहरीले खोजी गरेको थियो।
उनको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको रिजालले बताए। सुन्दर बुधबार साँझ घरबाट निस्किएका थिए। अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको डिएसपी रिजालले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली पुगेर अनुसन्धान गरिरहेको छ।