काठमाडौं महानगरपालिका– ७ र बुढानीलकण्ठ नगरपालिका– १० को सीमामा रहेको करिब आठ सय मिटर खहरे खोला खुला गरिएको छ । दुवै नगरपालिकाका जनप्रतिनिधिको सहमतिपछि ढलमा रूपान्तरण गरिएको खहरे महानगर प्रहरी बलसहितको टोलीले खुला गरेको हो ।
खोला छोपिएपछि बर्सेनि डुबानको चपेटामा पर्न थालेपछि काठमाडौं महानगरले खोला खोतल्ने भन्दै पाँच दिनअघि डोजर चलाउन थालेको थियो । तर, सीमाको अर्को स्थानीय तहसँग समन्वय नगरेको भन्दै विवाद भएको थियो । पछि दुवै नगरपालिकाले खोला खोल्न सहमति जनाएका हुन् ।
हालसम्म काठमाडौं महानगरतर्फ पाँच यस मिटर खोला खुला भइसकेको छ भने बुढानीलकण्ठतर्फ तीन सय मिटर खुलेको छ । महानगरपालिका वडा नम्बर ७ अन्तर्गतको साततले क्षेत्रमा खुला भइसकेको हो । त्यहाँ राखिएको पुरानो ह्युमपाइप निकालिएको छ भने थुनिएको खोला खुलेको छ ।
बुढानीलकण्ठ नगरपालिका– १० स्थित मिलनचोक र आरम्भचोकमा डोजर चलिरहेको छ । ढल मिसाइएको खोला खुला भएपछि दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । खहरे खोलामा वर्षाको वेला मात्रै भेल बग्छ ।
यसको स्थायी मूल नभएका कारण हिउँमा ढल मात्रै बग्ने गर्छ । स्थानीयवासीले खोलामाथि स्ल्याब र ढक्कन लगाएर त्यसलाई सडकको रूपमा प्रयोग गर्दै आइरहेका थिए । तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार खोलालाई खोलाकै रूपमा बग्न दिनुपर्छ । यो अभियानलाई महानगरले निरन्तरता दिन्छ ।