उपत्यकाका दुई महानगरमा करको दर : व्यवसाय गर्न ललितपुरमा सस्तो

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं र ललितपुर महानगरपालिका सीमा जोडिएका महानगर हुन् । उपत्यकामा रहेका दुई महानगरमध्ये काठमाडौं महानगरपालिका देशभरका ६ महानगरमध्ये सबैभन्दा जेठो पनि हो । जनसंख्या र बजेटको आकारका हिसाबले यो सबैभन्दा ठूलो हो ।

सीमा जोडिएका भए पनि ललितपुर र काठमाडौं महानगरबीच धेरै विषयमा असमानता छन् । जुन चालू आर्थिक वर्षमा तोकिएको कर व्यवस्थाले पनि देखिएको छ । आर्थिक ऐन, २०८० अनुसार काठमाडौं महानगरमा करको दायरा मात्र होइन, शुल्क पनि धेरै रहेको छ । गैरसरकारी संस्था दर्ता, नवीकरणतर्फ भने काठमाडौं ललितपुरभन्दा लचिलो देखिएको छ । 

आर्थिक ऐन, २०८० अनुसार काठमाडौं महानगरपालिकामा व्यवसाय कर पुँजीगत लगानी, आर्थिक कारोबार, व्यवसायको प्रकृति र प्रकारका आधारमा कायम गरिएको दरअनुसार मदिरा आयातकर्ताका लागि ३० हजार रुपैयाँ व्यवसाय कर लाग्नेछ । सुर्तीजन्य पदार्थ आयातकर्ताका लागि २५ हजार, मदिरा डिलर र सुर्तीजन्य डिलरका लागि क्रमशः १५ र १० हजार रुपैयाँ लाग्नेछ ।

पान पसल सञ्चालकका हकमा दुई हजार, पूजा सामग्री पसलका लागि एक हजार, पूजा सामग्री पसल धातुका वस्तुसमेत बिक्री गर्न तीन हजार, हिरामोती, सुन, चाँदी र पत्थरका सामग्रीको थोक पसलका लागि ३० हजार व्यवसाय कर तोकिएको छ । हिरामोती, सुन, चाँदी र पत्थरका सामग्रीको खुद्रा पसल सञ्चालकका लागि १० हजार व्यवसाय कर लाग्नेछ ।

हिरामोती, सुन, चाँदी र पत्थरका सामग्री खुद्रा पसल (३०० वर्गफुटभन्दा बढी) १० हजार, हिरामोती, सुन, चाँदी र पत्थरका सामग्रीको (३०० वर्ग फुटसम्म) पाँच हजार, सुनचाँदी बनाउने पसल दुई हजार, प्लेटेड गहना थोक पसल तीन हजार, प्लेटेड गहना खुद्रा पसल दुई हजार, हस्तकला तथा क्युरियो पसल ठूलोका लागि पाँच हजार व्यवसाय कर तोकिएको छ । 

ललितपुरले व्यवसाय करतर्फ मदिरा, चुरोट, डिस्टिलरी, सुर्तीजन्य पदार्थको उत्पादनका लागि २० हजार तोकेको छ । बु्रअरी, मदिरा, हल्का पेय, सुर्तीजन्य पदार्थ एजेन्सी, सप्लायर्सका लागि १५ हजार व्यवसाय कर तोकेको छ । मदिरा खुद्रा बिक्रीका लागि १० हजार, सुर्तीजन्य पदार्थ खुद्रा बिक्रीका लागि दुई हजार व्यवसाय कर तोकिएको छ ।

साधारण ज्वलेरी घरेलु उत्पादनका लागि पाँच हजार, ज्वलेरी उत्पादन/ठूलो सोरुमका लागि १० हजार, सुनचाँदी पसल सानो पाँच हजार, पत्थर–मुगा व्यापार–सुन चाँदी जलप लगाएका गरगहनातर्फ १५ सय, भिडियो क्यासेट–सिडी पसल एक हजार, टिभी/रेडियो/हिटर/फ्रिज/क्यामरा/वासिङमेसिन आदि इलेक्ट्रोनिक्स सामान एजेन्सी/सप्लायर्स र सोरुमका लागि १० हजार, फ्रिज, क्यामरा, वासिङमेसिन, टिभी हिटर सबै इलेक्ट्रोनिक्स पसलका लागि पाँच हजार व्यवसाय कर तोकिएको छ ।

कृषि तथा खाद्यान्न व्यवसायतर्फको कर पनि काठमाडौंमा धेरै
कृषि तथा खाद्यान्नतर्फ लगाइएको व्यवसाय करमा पनि काठमाडौं नै अगाडि देखिएको छ । काठमाडौंभित्रका किराना तथा खुद्रा पसलका लागि दुई हजार, किराना पसल थोकका लागि पाँच हजार, खाद्यान्न थोक बिक्री १० हजार, खाद्यान्न खुद्रा बिक्री तीन हजार, मौरीपालन व्यवसायका लागि दुई हजार व्यवसाय कर तोकिएको छ ।

कुखुराको चल्ला बिक्री तीन हजार, फलफूल, जुस तथा तरकरी पसल खुद्रा एक हजार, फलफूल तथा तरकारी पसल थोक दुई हजार, फलफूल तथा तरकारी बिरुवा विक्रेता (नर्सरी) व्यवसायका लागि दुई हजार व्यवसाय कर तोकिएको छ । ललितपुरमा किराना–खाद्यान्न पसलका लागि १२ सय, खाद्यान्नको थोक बिक्री गर्नेका लागि तीन हजार व्यवसाय कर तोकिएको छ । 

सम्पत्ति कर काठमाडौंमा उच्च
काठमाडौं महानगरमा सम्पत्ति करको दरअनुसार भवन र जग्गाको पहिलो सुरुको एक करोड अर्थात् एक करोड मूल्यको सम्पत्तिमा एक हजार कर लाग्नेछ । त्यसपछिको दुई करोडमा अर्थात् दुई करोडको सम्पत्तिमा २५ सय, तीन करोडको सम्पत्तिमा ४५ सय, चार करोड सम्पत्तिमा ८५ सय, पाँच करोड मूल्यको सम्पत्तिमा १४ हजार पाँच सय, ६ करोड मूल्य भएको सम्पत्तिमा २४ हजार पाँच सय, आठ करोड मूल्यको सम्पत्तिमा ८४ हजार पाँच सय र १० करोड मूल्य भएको सम्पत्तिमा एक लाख ७४ हजार पाँच सय कर लाग्नेछ । ललितपुरमा सम्पत्ति मूल्यांकनका आधारमा ३० लाखसम्मको सम्पत्तिका लागि पाँच सय कर तोकिएको छ । महानगरका राजस्व प्रमुख प्रेमबहादुर थापाका अनुसार पाँच सयभन्दा माथिको सम्पत्ति करका लागि सफ्टवेयरको सिस्टमले नै निर्धारण गरिएको मूल्य देखाउँछ । 
 

See More On

सुझावित समाचार