सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर बनेको समाजवादी मोर्चा सुस्त देखिएको छ । गत ४ असारमा माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर मोर्चा घोषणा गरेका थिए । मोर्चा बनेयता दुईवटा बैठक बसेको छ ।
२३ असारमा बसेको पहिलो बैठकले संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो । ३० असारमा बसेको दोस्रो बैठकले चार–चार महिनामा मोर्चाको नेतृत्व परिवर्तन गर्ने र साउनभित्र सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । तर, मिति भने तोकिएको थिएन । दोस्रो बैठकले प्रदेश र जिल्ला तहमा पनि मोर्चाको संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको थियो । तर, साउन मसान्तसम्म पनि निर्णय कार्यान्वयनमा आएको छैन ।
माओवादी उपाध्यक्ष अग्नि सापकोटाले नेताहरूको व्यस्तताका कारण मोर्चाको गतिविधिमा केही सुस्तता देखिएको बताए । ‘नेताहरूको व्यस्तताले गर्दा यस विषयमा गतिविधि भएनन् । मोर्चा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ,’ उनले भने ।
मोर्चाको सचिवालय सदस्यसचिव प्रमेश हमालले सचिवालयको बैठक बसेर सभाबारे निर्णय गर्ने बताए । प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालको विदेश भ्रमणका कारण सचिवालयको बैठकले साउनमा गर्ने भनिएको सभा भदौमा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
‘प्रधानमन्त्री र मोर्चाका संयोजकको विदेश भ्रमणका कारण सभा हुन सकेन । सचिवालयको बैठकले भदौमा सभा गर्ने समझदारी गरेको छ । अब केही दिनमा बैठक बसेर सभाको कार्यविधि बनाउँछौँ,’ उनले भने । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकपछि मोर्चाको प्रदेश सभा हुने हमालले बताए ।