चीनको बोर्डर डिफेन्स डेलिगेसन टिम (सीमा सुरक्षासम्बन्धी प्रतिनिधिमण्डलको टोली) बुधबार काठमाडौं आइपुगेको छ।
चीनको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यु एन दे नेतृत्वमा आठ सदस्यीय सीमा सुरक्षा हेर्ने अधिकारीहरू काठमाडौं आइपुगेका हुन्। उनीहरू भदौ ३ सम्म नेपालमा रहनेछन्।
नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले चिनियाँ प्रतिनिधिमण्डल आइपुगेको जानकारी दिए। ‘आठ सदस्यीय टोली काठमाडौंमा अवतरण भएको छ। आजै उहाँहरूले प्रधानसेनापतिज्यूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उहाँहरूले शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ कलेजको पनि भ्रमण गर्ने कार्यक्रम छ।’
तिब्बत हेर्ने सैन्य अधिकारीको भ्रमण कोरोना महामारी सकिएपछि सुरु भएको छ। सैन्य टोली चीनको सिचुआन प्रान्तको राजधानी छन्दुबाट आएको हो।