गुरुङ समुदायले मनाए ट्होटें पर्व

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

गुरुङ जातिहरूले आफ्नो सभ्यता, ऐतिहासिकता, सांस्कृतिक र एकताको मौलिक पर्व ‘ट्होटें’ पोखरामा मंगलबार भव्य रूपले मनाएका छन्।

तमु धिं नेपालको अगुवामा कास्कीसँगै आसपासका जिल्लाबाट आएका गुरुङहरुले पोखरामा भेला भएर सामूहिक रूपमा यो पर्व मनाएका हुन्। वर्षको दुईपटक साउन र चैत्र महिनाको अन्तिम मंगलबार यो पर्व मनाउने गरिन्छ। साउनमा उधौली र चैत्रमा उभाैली ट्होंटे मनाउने परम्परा रहेको छ।

ट्हो भनेको तमु भाषामा गाउँ, वस्ती, राज्य भन्ने बुझिन्छ भने टें भन्नाले गाउँ, वस्ती, राज्यबाट बैरी, अन्याय, अत्याचार, विभेदलाई धपाएर आफ्नो बस्ती, राज्य सुरक्षित र सभ्य बनाउने भन्ने बुझिने सिम्पानी तमु समाजका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिए। ट्होटें पर्व मनाएसँगै मानिसहरूमा रोग व्यथा हट्ने, प्राकृतिक प्रकोपहरू कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।

पर्व मनाउन आफ्नो मौलिक भेषभूषामा सजिएर परम्परागत बाजागाजा र झाँकीसहित पोखरा महानगरपालिका– ११ स्थित रानीपौवामा जम्मा भएका सहभागीहरूले तमु गाउँ, बस्ती, राज्य एवं पितृको नाउँमा पूजा गरी झाँकीसहितको र्‍याली निकालेका थिए। त्यसपछि सांस्कृतिक प्रस्तुतिसहित ट्होटें खेल्दै तमुहरूको मूल घर तमु धिंमा आएर ट्होटें खेली सेती नदीमा विसर्जन गरी पर्व समापन गरेका थिए।

र्‍यालीमा सहभागी महिलाहरू गुन्यु चोली, घलेक, पटुकी, टिकी र पछ्यौरामा सजिएका थिए भने कछाड, आसकोट र भांग्रासहित मौलिक र परम्परागत पोसाकमा पुरुषहरू सजिएका थिए। उनीहरूमध्ये केही हलो, कोदालो, स्याखु, डोको, डाली, थुन्से बोकेर सँगै केही घाँसपात र अनुहारमा विभिन्न रंगले पोतेर नाच्दै हिँडेका थिए।

सुझावित समाचार