चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ।
चितवनको भरतपुर महानगरपालिका– ११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।
प्रसारणलाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। २२० केभी डबल सर्किट प्रसारणलाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताए। ‘प्रसारणलाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रूख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।
अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका पुरानोसहित तीनवटा सर्किट भएका छन्। २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिंगल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।