थोरै जमिनमा धेरै उत्पादनका लागि कलमी

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

पछिल्लो समय नेपालमा ग्राफ्टिङ प्रविधि (कलमी)बाट बिरुवा रोप्ने चलन बढ्दो छ । थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले यस प्रविधिमा कृषकहरू आकर्षित भएका हुन् । 

यस प्रविधिमार्फत एउटै बिरुवामा कम्तीमा चार–पाँच प्रजातिका फलफूल फलाउन मिल्ने ढाँचीस्थित एसएस एग्रिकल्चर फार्मका सञ्चालक प्रदीप सिम्खडाले बताए । ‘घरमा जग्गाको क्षेत्रफल थोरै छ भने पनि विभिन्न थरीका बिरुवा रोप्न सकिन्छ । बगैँचाले घरलाई सुन्दर देखाउँछ, ताजा फलफूल खान पाइन्छ ।’ उनका अनुसार कागती, सुन्तला, मुन्तला, जुनार, हलुवाबेद, स्याउ, जापानिज सुन्तला, जापानिज नास्पातीलगायत विभिन्न प्रजातिका कलमी गरिएका बिरुवाको माग बढ्दो छ । 

कलमी कसरी गरिन्छ ?

कलमी गर्दा एकै प्रकार वा किसिमका दुई बिरुवालाई जोडेर नयाँ बिरुवा तयार गरिन्छ । यस प्रविधिमा एउटा बिरुवालाई जरासहित लिइन्छ र अर्को बिरुवाको हाँगासँग त्यसलाई जोडिन्छ । त्यसपछि नयाँ बिरुवा विकसित हुन्छ । यस्तो बिरुवामा दुवै बोटको गुण र विशेषता हुन्छ । कलमी गर्दा बिरुवाको रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ, त्यसैले बोटमा रोग लाग्ने सम्भावना कम रहन्छ, स्याहार पनि धेरै गर्नुपर्दैन ।

खासगरी गुणस्तरीय र छिटो फल्ने फलफूलका लागि कलमी गरिने कीर्तिपुरस्थित थापा नर्सरीका सञ्चालक कृष्ण थापा बताउँछन् । उनी भन्छन्, ‘बिउबाट उम्रेका फलफूलका बिरुवा फल्न वर्षाैं लाग्छ, तर कलमी गरेर सारिएको बिरुवाले एक–दुई वर्षमै फल दिन्छ । एउटै बिरुवामा तीन थरीका चेरी, तीन प्रजातिका स्याउलगायत फल फलाउन सकिन्छ ।’ उनले भने, ‘जग्गाको क्षेत्रफल कम छ भने पनि स्याउ, आरु, आरुबखडा, चेरीलगायत तीन–चार थरीका बोट रोप्न सकिन्छ ।’ कलमी गरिएका बिरुवा गमलामा रोप्दा तीन–चार फिटसम्म र जमिनमा ५–६ फिटसम्म अग्लो हुने थापाले बताए ।

उनी भन्छन्, हाइब्रिड फलफूलका बिरुवामा धेरै फल लाग्छ, धेरै झाँगिँदैन पनि । साना बिरुवाले घरलाई आकर्षक त बनाउँछन्, बिरुवालाई हुर्काउन पनि सजिलो हुने भयो ।’ आरु, अनार, आरुबखडा, एभोकाडो, हलुवाबेद, स्ट्रबेरी, अंगुरलगायतका हाइब्रिड जातका कलमी गरिएका बिरुवा गमला, छत वा जमिनमै पनि सानो क्षेत्रफलमा हुर्काउन सकिने उनले बताए । 

See More On

सुझावित समाचार