नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० जनाको सहभागिता छ। कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ। यस्तै, इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ। प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्।
प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष प्रशिक्षणकाे कार्यक्रमबीच उद्घाटन गरे।
त्यस अवसरमा उनले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनरुत्थान हुने विश्वास पोखे। हक्की संघका कार्यवाहक अध्यक्ष अनिल शर्माको सभापतित्व भएको थियो।