कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ आइबिआरडीकी एक महिला मृत फेला परेकी छिन् । मंगलबार बिहान पुनर्वास नगरपालिका– ३ आइबिआरडीकी २८ वर्षीया महिला लक्ष्मी घर्ती मृत फेला परेकी हुन् ।
घर्ती सोमबार बेलुका ८ बजेतिर मामाघर जान्छु भन्दै घरदेखि हिँडेकी थिइन् । घरबाट हिँडेको भोलिपल्टै आइबिआरडी बजारनजिकै मृत फेला परेकी छिन् । उनको हत्या भएको आशंका गरिएको छ । पाँच वर्षीय छोरासहित उनी केही वर्षदेखि माइती घरमै बस्दै आएको र पारिवारिक बेमेल रहेको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनास्थलको मुचुल्का संकलन गरेर शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।
परिवारसँग विवादमा रहेकी लक्ष्मीको हत्या भएको भन्दै माइती पक्ष एवं आफन्तले अनुसन्धान गरेर दोषीमाथि कारबाहीको माग अघि सारेका छन् । दुई साताअघि मात्रै दोधारा–चाँदनीका एक पुरुषले श्रीमतीको हत्या गरेका थिए । पछिल्ला दिनहरूमा कञ्चनपुरमा आफ्नैबाट हत्याजस्ता आपराधिक घटना घटिरहेका छन् ।