पोखरा रंगशालाको ओभरहेड पानीट्यांकी निर्माण रोकियो

कामदारहरू भारत गएका कारण असारदेखि निर्माण कार्य ठप्प, अहिलेसम्म ४० प्रतिशत मात्र काम

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

पोखरा रंगशालास्थित ओभरहेड खानेपानी ट्यांकी निर्माणकार्य पूरा हुन समय लाग्ने भएको छ । गत वैशाखमा निर्माणकार्य सकिनुपर्ने थियो । काठमाडौं धुम्बाराहीको सागर निर्माणले ३० वैशाख ०८० मा निर्माण सकाउने गरी ठेक्का पाएको थियो । कम्पनीले सम्झौता गरेअनुसार काम नगर्दा निर्माणको काम ४० प्रतिशत मात्र भएको छ । पोखरा रंगशालामा रहेका विभिन्न भवनमा पानी आपूर्ति गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत आर्थिक वर्ष ०७९/८० को बजेटमा एक करोड रकम विनियोजन गरेको थियो ।

यसै रकमभित्र रहेर ट्यांकी निर्माणमा लागि निकालेको बोलपत्रमा सागर निर्माण सेवा छनोट भएको थियो । कम्पनीले भ्याटसहित ८६ लाख ९९ हजार ६७ रुपैयाँमा निर्माण गर्ने गरी ३० साउन ०७९ मा राखेपसँग सम्झौता गरेको थियो । निर्माण अवधिको समय नाघेको तीन महिनापछि पनि कम्पनीले खासै काम अगाडि बढाएको छैन । गत असारको तेस्रो सातादेखि काम नै भएको छैन । काम रोकिँदा ट्यांकी निर्माण अलपत्र अवस्थामा छ ।

तीन तलामाथि गोलाकार रूपमा बन्ने पानीट्यांकीमा एक लाख लिटर पानी अट्ने राखेपअन्तर्गत पोखरामा कार्यरत इन्जिनियर अनिल अधिकारीले जानकारी दिए । अहिले दुई तलाबराबरको पिलर ठड्याउने र बिम बाँध्ने काम भएको छ । अर्को एक तालको पिलर ठड्याउने र बिम बाँध्ने कामसँगै गोलाकार रूपमा बन्ने टयांकी निर्माणको काम बाँकी रहेको छ । 

कम्पनीका अधिकारीले कामदार नभएर काम रोकेको बताएका छन् । कम्पनीले वैशाखमै म्याद थपका लागि निवेदन दिएको थियो । ओभरहेड खानेपानी ट्यांकी नहुँदा रंगशाला परिसरमा रहेका भवनमा पानीको समस्या छ । रंगशाला परिसरमा आफ्नै बोरिङ भए पनि ओभरहेड ट्यांकी नहुँदा लामो समययदेखि पानीको समस्या हुँदै आएको छ ।

‘तीन महिनाभित्र सकाउने लक्ष्य छ’
सुरज बिडारी, लेखापाल, निर्माण सेवा

हामीले ३० वैशाख ०८० मा काम सम्पन्न गर्ने भनी ठेक्का लिएका थियौँ । तर, विविध कारणले समयमा काम पूरा गर्न नसकिएको स्वीकार गर्छु । गत वर्षको दसैँ–तिहारको बीचबाट काम भएको थियो । काम असार महिनाको बीचदेखि रोकिएको हो । समयमा निर्माणकार्य नसक्ने भए पनि म्याद थपका लागि वैशाखमै निवेदन दिएका थियौँ । काम गर्ने मजदुर सबै भारतीय छन् । उनीहरू रोपाइँलगायत अन्य कामले घर गएका छन् । एक सातामा आउँछन् होला । उनीहरू आएपछि काम सुरु हुन्छ । अब बढीमा तीन महिनामा सबै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । 

सुझावित समाचार