निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण
निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताएका छन्।

सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकेको बताएका हुन्। 

उनले सरकारले गत आर्थिक वर्षमा नै धेरै निर्माण व्यवसायीले पाउनुपर्ने रकमको भुक्तानी गरेको भन्दै अर्थ मन्त्रालय र अर्थमन्त्रीले भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएकोे बताए। अर्थमन्त्री महतले आर्थिक वर्ष ०८०/८१ को विनियोजित बजेटमार्फत पनि भुक्तानी गर्न नसक्ने भए सम्बन्धित मन्त्रालयले वितरण पेस गरे सबै भुक्तानी गर्ने बताए।

सरकारले व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानीको दायित्व पूरा गर्न तयार रहेको बताउँदै मन्त्री महतले कुन आयोजनाको कति भुक्तानी बाँकी रहेको विवरण पेस गरेसँगै सबै भुक्तानी हुने आश्वासन दिए।

उनले निर्माण व्यवसायीहरूका भुक्तानीबाहेकका अन्य मागहरू जटिल रहेको भन्दै वार्ता कमिटीले व्यवसायीहरूसँग वार्ताको माध्यमबाट समाधान खोज्ने बताए।अर्थमन्त्री महतले राज्यको तर्फबाट गर्न सक्ने माग सम्बोधन गर्ने भन्दै निर्माण व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरे। 

सुझावित समाचार